
महोत्तरी, १६ पुस– महोत्तरीको किसाननगर–९ मा रहेका सुकुम्बासीहरूले सामूहिक रूपमा माछापालन गरेर आयआर्जन सुरु गरेका छन् ।
चारघरे भूमि अधिकार मञ्चमा आबद्ध ४४ परिवार सुकुम्बासीले एउटै पोखरीमा सामूहिक माछापालन गरेर आम्दानी गर्न थालेका हुन् ।
भूमि अधिकार मञ्च महोत्तरीको पहलमा गाउँको आठ कट्ठा पर्ती जमिनमा पोखरी निर्माण गरेर सुकुम्बासीले सामूहिक रूपमा माछापालन गरेका मञ्चका महोत्तरी जिल्ला सचिव राजकुमार बस्नेतले जानकारी दिए ।
पाँच महिनाअघि पोखरीमा हालिएका माछा यतिबेला खानयोग्य भएका छन् । माछा बेचेर यसपटक खर्च कटाएर करिब रु ५० हजार आम्दानी हुने अपेक्षा गरेको समूहका अध्यक्ष अम्बरबहादुर कार्कीले बताए ।
सुकुम्बासी परिवारको जीवनयापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न निकायले आर्थिक सहयोग गरी निर्माण गरिदिएको पोखरीमा सुकुम्बासीले माछापालन गर्न थालेका हुन् । रासस