अझै जग्गा पाएनन् मुक्त कमैयाले

काठमाण्डु टुडे २०७० पुष १६ गते ११:२७ मा प्रकाशित

Kamaiyaकञ्चनपुर, १६ पुस– जग्गाधनी प्रमाणपत्र पाएर पनि कञ्चनपुरका दुई सयभन्दा बढी मुक्तकमैया परिवारले जग्गा पाउन सकेका छैनन् ।

जिल्लाको दक्षिणी क्षेत्र बाइसेविचवाको पचगडियामा दुई सयभन्दा बढी मुक्तकमैया परिवारका लागि छुट्याएको जग्गा स्थानीय बासिन्दाले कब्जा गरेपछि मुक्तकमैया परिवारले जग्गा पाउन नसकेका हुन् ।

‘पचकडिया र सीताबस्तीमा भूमिसुधार कार्यालयले पाँच कट्ठाका दरले जग्गा दिने निर्णय गरी जग्गाको कित्ताकाटसमेत गरेको थियो’ मुक्तकमैया राधेश्याम रानाले भने ।

हालसम्म जग्गामा बसोवासको व्यवस्था नगर्दा मुक्तकमैया परिवार हातमा जग्गाधनी पुर्जा भएर पनि मजदुरी गरेर अर्काको घरमा बस्नु परेको उनले बताए । पाँच वर्षअघि मुक्तकमैया पुनःस्थापन समितिले ती दुई स्थानमा पाँच कट्ठाका दरले जग्गाधनी पुर्जा वितरण गरेको थियो ।

पचगडियामा कमैया परिवारलाई पुर्जा वितरण गर्दा स्थानीयले पुर्जा जलाउनाका साथै पुनःस्थापन टोलीमाथि आक्रमण गरेपछि पुनःस्थापन कार्य रोकिएको थियो । स्थानीय बासिन्दाले अतिक्रमण गरेको पचगडियामा ४० बिघा जग्गा छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us