
काठमाण्डु, १६ पुस- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र नेताहरुको चाकडी गर्नु पर्ने अवस्था आएको बताएकी छन् ।
उनले समानुपातिक निर्वाचन प्रणालीको सैद्धान्तिक र व्यवहारिक पक्षमा बहस गर्नु पर्ने अवस्था आएको बताएको बताएकी छन् ।
समानुपातिकबाट कमजोर र राजीतिक आधार नभएका ब्यक्तिहरु नेताहरुसँगको पहुँचको आधारमा सभासद बन्दा पार्टीको जनाधार कमजोर र पार्टी निरकुंश हुन थालेको भन्दै यसले मर्यादित संविधानसभालाई प्रतिष्ठा हिन बनाएको झाँक्रीको भनाइ थियो ।
‘समावेशीको नाममा थारुबाट जमिन्दार, पुरुषलाई अघिपछि लगाउन सक्ने महिला, नेताका श्रीमती र पैसाको बोलकवोल गर्न सक्नेले अवसर पाउँदा ती वर्गको समावेशीकरण हुन सक्दैन,’ उनले भनिन्, ‘राप्रपा नेपाल र एमालेको समानुपातिकको सूचीमा रहेकी राज्यलक्ष्मी गोल्छाबाट एमालेले कति पैसा लियो ?’
उनले पार्टी भित्रको विकृति विरुद्ध संघर्ष गर्ने बताइन् ।
कार्यक्रममा कांग्रेसका नेतासुरेन्द्र पाण्डेले पार्टीमा इमान्दार भन्दा पनि नेतालाई रिझाउने व्यक्ति सभासद बनेको भन्दै पार्टीका लागि त्याग गर्नु निरर्थक बनेको टिप्पणी गरे । उनले भागबण्डाकै कारण कांग्रेस कमजोर बन्दै गएको बताए ।