‘एच नाइन’ भाइरसले कुखुरा मरे

काठमाण्डु टुडे २०७० पुष १६ गते ८:०७ मा प्रकाशित

Henकैलाली १६ पुस – कैलालीको गोदावरी गाविसस्थित एक पोल्टी फार्ममा ‘एच नाइन’ भाइरसका कारण कुखुरा धमाधम मर्न थालेका छन् । स्थानीय नारद जोशीको पोल्टी फार्ममा ठूलो सङ्ख्यामा कुखुरा मर्न थालेको जिल्ला पशु सेवा कार्यालय कैलालीले जनाएको छ ।

पोल्ट्री फार्ममा रहेका तीन हजार ५०० कुखुरामध्ये झन्डै दुई हजार कुखुरा मरेको फार्म सञ्चालक नारद जोशीले बताए । धमाधम कुखुरा मर्न थालेपछि मरेका कुखुरा गाड्न समस्या हुँदा फार्म वरिपरि रहेको बस्ती दुर्गन्धित भएको उनले बताए ।

पशु सेवा कार्यालय धनगढीका प्रमुख विनय कर्णले ठूलो सङ्ख्यामा कुखुरा मरेको खबर थाहा पाएपछि आफू त्यहाँ गएको तर जैविक सुरक्षा नभएकाले फर्मभित्र गएर अध्ययन गर्न समस्या भएको बताए ।

डा कर्णले क्षेत्रीय प्रयोगशालामा मरेका कुखुरा परीक्षण गर्दा फ्लु ‘ए’ पोजेटिभ समूहअन्तर्गत एच नाइन भाइरसका कारण कुखुरा मरेको भन्ने जानकारी आएको र थप पुष्टिका लागि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौँ पठाइएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us