हात्ती आतंकबाट स्थानीय चिन्तित

काठमाण्डु टुडे २०७० पुष १६ गते ७:५९ मा प्रकाशित

Hatti-terror_20120106093157-350x262पर्सा १६ पुस –  पर्साको ठोरी गाविसमा जङ्गली हात्तीले फेरि आतङ्क मच्चाएपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको जङ्गलबाट गएराति बस्तीमा पसेको जङ्गली हात्तीले ठोरी–३ सरस्वतीनगरका जितबहादुर सुनारको भान्छाघर भत्काइदिएको छ ।

निकुञ्जको जङ्गलबाट ठोरी–५ हनुमाननगरमा पसेको जङ्गली हात्तीले सरस्वतीनगर स्थित सुनारको भान्छाघर भत्काएको थियो । इलाका प्रहरी कार्यालय ठोरीबाट गएको प्रहरीले स्थानीयवासीको सहयोगमा हात्तीलाई र जङ्गलतर्फ धपाए पनि फेरि फर्किएर आएको थियो ।

जङ्गली हात्ती रातभर गाउँमै रहेका कारण स्थानीय बासिन्दा त्रसित भई रातभर जाग्राम बसेका थिए । हात्तीले सरस्वतीनगरमा गहुँबाली खानुका साथै तोरीबाली पनि माडेर नष्ट गरेको छ ।

यसअघि अस्ति शुक्रबार राति पनि जङ्गली हात्तीले सरस्वतीनगरमै दुई वटा घर भत्काएको थियो ।

यस वर्षमात्रै ठोरीमा जङ्गली हात्तीले स्थानीयवासीको दुई दर्जन घर भत्काउनुका साथै खेतमा लगाइएको बालीनाली नष्ट पारेको स्थानीय शिक्षक प्रेम लामाले जानकारी दिए ।

हात्तीको आतङ्क नियन्त्रणका लागि राष्ट्रिय निकुञ्जको कसरा पोष्टलगायतका सम्बन्धित निकायमा पटकपटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us