दुई सय बढी मुक्तकमैयाले जग्गा पाएनन्

काठमाण्डु टुडे २०७० पुष १६ गते ७:२६ मा प्रकाशित

कञ्चनपुर, १६ पुस – जग्गाधनी प्रमाणपत्र पाएर पनि कञ्चनपुरका दुई सयभन्दा बढी मुक्तकमैया परिवारले जग्गा पाउन सकेका छैनन् ।

जिल्लाको दक्षिणी क्षेत्र बाइसेविचवाको पचगडियामा दुई सयभन्दा बढी मुक्तकमैया परिवारका लागि छुट्याएको जग्गा स्थानीय बासिन्दाले कब्जा गरेपछि मुक्तकमैया परिवारले जग्गा पाउन नसकेका हुन् ।

पचकडिया र सीताबस्तीमा भूमिसुधार कार्यालयले पाँच कट्ठाका दरले जग्गा दिने निर्णय गरी जग्गाको कित्ताकाटसमेत गरेको थियो– मुक्तकमैया राधेश्याम रानाले बताए । हालसम्म जग्गामा बसोवासको व्यवस्था नगर्दा मुक्तकमैया परिवार हातमा जग्गाधनी पुर्जा भएर पनि मजदुरी गरेर अर्काको घरमा बस्नु परेको उनले बताए ।

पाँच वर्षअघि मुक्तकमैया पुनःस्थापन समितिले ती दुई स्थानमा पाँच कट्ठाका दरले जग्गाधनी पुर्जा वितरण गरेको थियो ।

पचगडियामा कमैया परिवारलाई पुर्जा वितरण गर्दा स्थानीयले पुर्जा जलाउनाका साथै पुनःस्थापन टोलीमाथि आक्रमण गरेपछि पुनःस्थापन कार्य रोकिएको थियो । स्थानीय बासिन्दाले अतिक्रमण गरेको पचगडियामा ४० बिघा जग्गा छ ।

भूमिसुधार कार्यालयको मुक्तकमैया फाँटका खरिदार शंकरदत्त कलौनीले पचगडियामा स्थानीयको अवरोध र सीताबस्तीमा पुर्जा बुझेपछि सम्पर्कमा नआएका कारण जग्गा वितरण गर्न नसकिएको बताए ।

कञ्चनपुरमा चार वर्षअघि नै मुक्तकमैया पुनःस्थापनाको कार्य सम्पन्न भएको घोषणा गरिएको थियो । विसं २०५७ मा मुक्तकमैया घोषणापछि जिल्लामा तीन हजार ४५ कमैया परिवारलाई पुनःस्थापन गरिएको छ । पुनःस्थापन सकिएपछि बाढी पहिरोले विस्थापित १५० कमैया परिवारसहित जिल्लामा जग्गा नहुनेको सङ्ख्या ३५० पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us