सडक गुरुयोजना बनाइने

काठमाण्डु टुडे २०७० पुष १६ गते ६:०४ मा प्रकाशित

बाग्लुङ, १६ पुस–बाग्लुङ जिल्लाका सडकलाई व्यवस्थित गर्ने उद्देश्यले जिल्ला सडक गुरुयोजना निर्माण गरिने भएको छ । जिल्लामा निर्माण गरिएका सडक अव्यवस्थित भएको, अनावश्यक ठाउँमा समेत सडक निर्माण गर्ने गरिएको लगायतका गुनासो आएपछि सडक गुरुयोजना निर्माण गर्न लागिएको हो ।

सडक गुरुयोजनाले जिल्लाका सडकको वर्गीकरण गर्ने, सडकको प्राथमिकता निर्धारण गर्ने, सडकको रुट पहिचान गर्ने, पहिचान भएका रुटको नाम र ठाउँ आवश्यकताअनुसार परिमार्जन गर्ने जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

सडक निर्माणमा कनिका छरे जस्तो गरी बजेट खर्च भएको गुनासो आएपछि गुरुयोजना निर्माण गर्न लागिएको प्राविधिक कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए । गुरुयोजना निर्माण भएपछि पाँच वर्षसम्म गुरुयोजनामा प्राथमिकता निर्धारण गरिएका सडकमा मात्र जिल्ला विकास समितिलगायतका विकासे संस्थाले बजेट विनियोजन गर्ने पौडेलको भनाइ छ ।

गुरुयोजनाले जिल्लाका सडकलाई तीन तहमा वर्गीकरण गरेको छ । जिल्लाका १८ वटा सडकलाई ‘क’ समूह, २५ वटा सडकलाई ‘ख’ समूह र ५४ वटा सडकलाई ‘ग’ समूहमा विभाजन गरिएको प्राविधिक कार्यालयले जनाएको छ ।

सडक गुरुयोजना निर्माण भएपछि अव्यवस्थित रुपमा खनिएका सडकलाई निश्चित मापदण्डमा ल्याउने र व्यवस्थित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । गाउँगाउँमा सडक लैजाने होडबाजीले कतिपय स्थानमा आवश्यकता पहिचानै नगरी सडक विस्तार गरिएको छ । सडक ग्रेड नमिलाई खन्दा सवारी आवातजावतमा समस्या उत्पन्न हुनेगरेको छ । अव्यस्थित सडकका कारण बर्सेनि सवारी दुर्घटना पनि निम्तिने गरको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us