
भक्तपुर, १६ पुस–भक्तपुरको लोकन्थलीस्थित मनोहरामा मंगलबार बिहान एक पुरुषको बेवारिसे शव फेला परेको छ । लोकन्थली प्रहरी बिटनजिकै मनोहरा आँखा अस्पताल जाने सडकको खोंचमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।
हेर्दा बाहुन, क्षत्रीजस्तो देखिने जनै लगाएको कलेजी ज्याकेट, जिन्स पाइन्ट लगाएको, जुत्ता चप्पल नभएको पुरुषको शव फेला परेको अनुन्धानमा खटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक रवीन्द्र रायमाझीले जानकारी दिए ।
टाउकोमा चोट भेटिएको र दाहिने कानबाट रगत आएकोले कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । शवलाई गठ्ठाघरस्थित नागरिक अस्पताल पुर्याएर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक रायमाझीले बताए ।
घटनास्थल र शवको साथबाट परिचय खुल्ने केही पनि नभेटिएकाले शव कसको हो पहिचान गर्न नसकिएको उनको भनाइ छ ।