कर्णालीमा हिमपात, जनजीबन प्रभावित

काठमाण्डु टुडे २०७० पुष १६ गते ५:०३ मा प्रकाशित

काठमाण्डु, १६ पुस–कर्णाली अन्चलका अधिकांश जिल्लामा भारी हिमपात भएको छ । हिमपातको कारण जनजीबन प्रभावित भएको छ । हिमपातले अत्यधिक चिसो बढेपछि बालबालिका र बृद्धबृद्धा बढि समस्यामा परेका छन् ।

एक फिटसम्म हिउँ जमेपछि मुगु, हुम्ला, जुम्ला लगायत जिल्लाका सर्बसाधारणको दैनिकी कष्टकर भएको छ । मुगुको एकमात्र ताल्चा विमानस्थलमा हिउँ जमेपछि हवाई सेवा अबरुद्ध भएको छ । हिउँले बाटो अबरुद्ध भएपछि हिँडडुल गर्न र दैनिक उपभोग्य सामाग्री ढुवानी हुन सकेको छैन ।

जुम्लामा पनि मंगलबार बिहान ६ बजेदेखि एक्कासि हिमपात भएको छ । हिमपातका कारण जुम्लामा बिहानको तापक्रम करिब माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको हावापानी फिल्ड कार्यालयले जानकारी दिएको छ ।

हिमपातले कामकाज तथा हिँडडुल गर्न अप्ठ्यारो परेपनि किसानलाई भने ठूलो फाइदा पुग्ने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । जुम्लामा अहिले पौने १ फिट जति हिमपात भएको छ भने हिउँ पर्ने क्रम जारी छ । हिमपात बेसीभन्दा लेकमा बढी भएको छ ।

दार्चुला जिल्लामा पनि सोमबार राति वर्षासँगै भारी हिमपात भएको छ । हिमपातका कारण चिसोले जनजीवन कष्टकर बनेको छ । उत्तरी दार्चुलाका एक दर्जन गाविसमा हिमपातभएको छ । घुसा, खण्डेश्वरी, राप्ला, एरकोट, व्यास, सुन्सेरा, सिप्टी, खार सदरमुकाम खलङ्गा र तीन कोष क्षेत्रलगायतका स्थानमा भारी हिमपात भएको हो ।

गत कात्तिक महिनाको अन्तिम सातामा उत्तरी दार्चुलाको उच्च लेकाली बस्तीमा हिमपात भएको थियो । त्यसपछि अहिले हिमपात सुरु भएपछि यो पटक भारी हिमपात हुने स्थानीयवासीको भनाइ छ ।

मध्यपश्चिमको रुकुमका उच्च भागमा पनि हिउँ परेको छ । रन्मामैकोट, हुकाम, सिस्ने लगायतका गाविसका उच्च भागमा हिउँ परेको स्थानीयले बताएका छन् । चिसोका कारण सदरमुकाम मुसिकोट खलंगामा मानिसहरुको चहल पहल कम देखिएको छ ।

विहानैबाट रुकुम लगायत राप्ती तथा भेरी अन्चलका विभिन्न जिल्लाहरुमा अत्यधिक चिसो महसुश गरिएको छ । रुकुम, रोल्पा, सल्यान, रोल्पा, दाङ, प्युठान, जाजरकोट लगायतका जिल्लाहरुमा अन्य दिनको भन्दा चिसो बढेपछि जनजीबन प्रभावित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us