काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउदै

काठमाण्डु टुडे २०७० पुष १६ गते ३:०७ मा प्रकाशित

NC-Flagकाठमाण्डु, १६ पुस–नेपाली काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउंदै छ । संस्थापक नेता वीपी कोइरालाले आठ बर्ष लामो भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले यो दिवस मनाउने गर्दछन् ।

तत्कालीन पञ्चायती ब्यवस्थाले आफूविरुद्ध लगाएका विभिन्न मुद्दाको पर्वाह नगरी राष्ट्रिय शक्ति र प्रजातान्त्रिक शक्तिसँग एकता र मेलमिलापको माध्यमद्धारा देशको स्वाभिमान बचाउने उदघोषका साथ वीपी स्वदेश फर्किएका थिए । नेपालमा प्रजातान्त्रिक ब्यवस्था ल्याउन विदेशी भुमीमा बसेर संघर्ष गर्नुभन्दा आफ्नै देशमा मेलमिलाप गर्नुपर्ने उनको मान्यता थियो ।

प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रणेता वीपी स्वदेश फर्किएपछि भएका बिभिन्न आन्दोलन र २०३७ सालको जनमत संग्रहले देशमा राजनीतिक परिवर्तनको लागि बाटो सहज बनाएको बताउने गरिन्छ । वीपीले अघि सारेको एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक मानिएको छ । अहिले सबैजसो राजनीतिक दलहरुले यसलाई अनुसरण गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us