ऋण पाएपछि पुस्तक छपाइ सुरु

काठमाण्डु टुडे २०७० पुष १६ गते २:१० मा प्रकाशित

janaksikshya_1329370459भक्तपुर, १६ पुस–जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाई सुरु गरेको छ । रकम अभावका कारण कागजसमेत ल्याउन नसकेर बन्द भएका केन्द्रका छापाखानाहरू सरकारले ऋण दिएपछि पुनः सुचारु भएको हो ।

कागज ल्याउन नसकेर किताब छपाई रोकिएको केन्द्रमा सरकारले कागज खरिद गर्नका लागि तत्काल १५ करोड रुपैयाँ उपलब्ध गराएपछि किताब छपाई सुरु भएको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले आगामी शैक्षिक सत्रका लागि किताब छपाई पुनः सुरु भएको र आगामी डेढ महिनासम्म सरकारले उपलब्ध गराएको ऋणबाट किताब छाप्न पुग्ने बताए ।

केन्द्रले अहिले दैनिक एक लाखदेखि डेढलाखसम्म पुस्तक छाप्दै आएको जानकारी दिँदै उनले केन्द्रसँग ७५ लाख पुस्तक रहेको र अब आवश्यक पर्ने एक करोड ७५ लाख पुस्तक छपाई भइरहेको जानकारी दिए ।

छपाई सकिएका पाठ्यपुस्तक वितरणका लागि पठाउने कार्यसमेत सुरु गरेको केन्द्रले जनाएको छ । केन्द्रले फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने मनाङ, मुस्ताङ र कर्णालीमा भने क्षेत्रीय कार्यालयमार्फत पुस्तक पठाउनसमेत सुरु गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us