
ताप्लेजुङ, १६ पुस–ताप्लेजुङका २३ वटा गाउँ विकास समितिलाई शान्तिक्षेत्र घोषणा गरिएको छ । सदरमुकाम फुङलिङ, दोखु र हाङदेवासहितका गाविसलाई शान्तिक्षेत्र गाविसका रुपमा घोषणा गरिएको हो ।
तमु ल्होसार पर्वको अवसर पारेर तमु समुदायको बस्ती रहेका क्षेत्रका रुपमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का ताप्लेजुङले ती क्षेत्रलाई शान्तिक्षेत्र घोषणा गरिएकोे तमु ल्होसार मनाउन गठित मूल आयोजक समितिका संयोजक भरतकुमार गुरुङले जानकारी दिए । उनले बुद्ध अहिंसा तथा शान्तिका अग्रदूत भएकाले बौद्धमार्गी समुदायको बस्ती रहेका क्षेत्रमा शान्तिको सन्देश छर्न यो अभियान थालेको जानकारी दिए ।
तमु समुदायले यस वर्ष सप्रि अर्थात् सर्प वर्षको बिदाइ तथा ता ल्हो अर्थात् घोडा वर्षको आगमनका रुपमा नयाँ साल मनाएका छन् । १२ वटा जनावरलाई वर्षका रुपमा लिने बौद्धमार्गीले हरेक साल एउटा जनावरको बिदाइ तथा अर्को जनावरको आगमनका रुपमा लिने गर्दछन् । ल्हो भन्नाले नयाँ साल भन्ने अर्थ लाग्दछ ।