सोलुखुम्बुमा अर्को विमानस्थल थपिने

काठमाण्डु टुडे २०७० पुष १६ गते १:५६ मा प्रकाशित

solukhumbu_district_mapसोलुखुम्बु, १६ पुस–सोलुखुम्बु जिल्लाको कर्णाली भनेर परिचित कोसीपारिको गाविस गुदेलमा वैकल्पिक विमानस्थल निर्माण हुने भएको छ । सगरमाथा क्षेत्रको प्रमुख नाकाका रुपमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लाको वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गरिने महाकुलुङ क्लब गुदेलका सचिव सूर्य कुलुङले बताए ।

विमानस्थल निर्माण भएपछि कोसीपारिका गाविसका स्थानीय मात्र होइन भोजपुर र खोटाङ जिल्लाको उत्तरी भेगमा पर्ने गाविसका स्थानीयसमेत लाभान्वित हुनेछन् ।

त्यसैगरी यसै क्षेत्रमा पर्ने प्रसिद्ध पर्यटकीय क्षेत्र मेरा–पिक आरोहणमा जाने नेपाली तथा विदेशी पर्यटकलाई समेत सजिलो हुने महाकुलुङका सचिव कुलुङको विश्वास छ । यति मात्र होइन अरुण भ्याली टे«क, जिल्लाको तल्लो पर्यटकीय क्षेत्रभित्र पर्ने स्थानहरु समेतमा पर्यटक पुग्ने आशा त्यस भेगका स्थानीयवासीले गरेका छन् ।

‘हामीले विकासको निम्ति कुनै पार्टीगत नभई, जुनसुकै पार्टी भए पनि आफ्नो क्षेत्रको विकासको निम्ति सदैव एकजुट हुनुपर्दछ,’ गुदेल शेर्पा किदुक समाजका सचिव दावा शेर्पाले भने । काठमाण्डुबाट दोस्रो संविधानसभा निर्वाचनमा सोलुखुम्बुबाट निर्वाचित सभासद् बलबहादुर केसीलगायत विमानस्थल सर्वेका लागि इन्जिनियरसहित केही स्थानीय गुदेल पुगेका छन् ।

गुदेलमा निर्माण गरिने नयाँ वैकल्पिक विमानस्थलको नाम भने महाकुलुङ विमानस्थल राख्ने तयारी र्भैरहेको छ । यो नयाँ विमानस्थलसँगै सोलुखुम्बु जिल्लामा ६ वटा विमानस्थल हुनेछन् ।

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको खुम्जुङस्थित आमादब्लमको आधार शिविर नजिक रहेको मिङ्मो विमानस्थल, नाम्चे गाविसमा रहेको स्याङ्बोचे विमानस्थल, चौँरीखर्कमा रहेको तेन्जिङ हिलारी विमानस्थल, सदरमुकाम सल्लेरीमा रहेको फाप्लु विमानस्थल र जिल्लाको दक्षिणी क्षेत्रमा रहेको काँगेलडाँडा विमानस्थल गरी जिल्लामा नयाँ विमानस्थल निर्माणसँगै ६ वटा विमानस्थल हुनेछन् ।

अहिले तीनवटा विमानस्थलमा मात्र हवाई जहाजले उडान भरिरहेको छ भने मिङ्मो विमानस्थल धेरै उचाइमा रहेका कारण बन्द भएको छ । त्यसैगरी स्याङ्बोचे विमानस्थलमा पिलाटस पोर्टरले मात्र उडान भर्ने भए पनि तारा एयरले पिलाटस पोर्टर बेचेपछि अहिले स्याङ्बोचे विमानस्थल पनि बन्द रहेको छ ।

तेन्जिङ हिलारी विमानस्थल लुक्ला र काँगेलडाँडा विमानस्थलमा हवाई जहाजले उडान भरिरहेको छ भने सदरमुकाममा रहेको फाप्लु विमानस्थल भने कालोपत्रे हुने काम भइरहेकाले अहिले उडानमा रोक लगाइएको छ ।

नयाँ विमानस्थलको सर्भे आफ्नै आँखाअगाडि भएपछि कोसीपारिका गाविसका स्थानीय खुसी भएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us