अन्तर्वार्ता स्थगनले शिक्षक अन्योलमा

काठमाण्डु टुडे २०७० पुष १६ गते १:५१ मा प्रकाशित

Shik6ya-Sewa-aayogकाठमाण्डु, १६ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि शिक्षक सेवा आयोगले शिक्षकको पदपूर्तिका लागि लिएको खुला प्रतियोगितात्मक परीक्षाको अन्तर्वार्ताका कार्यक्रम स्थगित भएपछि परीक्षार्थी अन्योलमा परेका छन् । लिखित परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मेदवारले अन्तर्वार्ताको तयारी गरिरहेका बेला यही पुस ११ गतेदेखि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट माध्यमिक तहका शिक्षक पदपूर्तिका लागि अन्तर्वार्ताको समय निर्धारण गरिएको थियो ।  तर एकाएक अन्तर्वार्ता रोकिएको र अर्काे मिति समेत तय नहुँदा परीक्षार्थीहरु अन्योलमा परेका हुन् ।

शिक्षक सेवा आयोगले अख्तियारको निर्देशनका कारण हाललाई अन्तर्वार्ता रोकिएको भनी औपचारिकरुपमा सोमबार मात्रै गोरखापत्रमा सूचना प्रकाशन गरेको छ । अख्तियारले छानबिन गरिरहेकाले अब कहिलेदेखि अन्तर्वार्ता हुन्छ भन्नेबारेमा शिक्षक सेवा आयोग पनि स्पष्ट छैन । लिखित परीक्षाको नतिजा प्रकाशनमा अनियमितता भएको उजुरी परेका आधारमा अख्तियारले अन्तर्वार्ता रोक्न बुधबार निर्देशन दिएको थियो ।

एकाएक अन्तर्वार्ता रोकिएपछि विभिन्न क्षेत्रीय शिक्षा निर्देशनालयमा परीक्षा गराउन खटिएका कर्मचारीहरु काठमाण्डु फर्केका छन् । शिक्षक सेवा आयोगका उपसचिव नारायण ढुङ्गानाले जानकारी अर्काे निर्णय वा सूचना नआउन्जेलसम्म प्रतीक्षामा रहन शिक्षकका प्रतिस्पर्धी उम्मेदवारलाई आग्रह गरे ।

कतिपय शिक्षक संघ-संगठनले परीक्षामा हालसम्म धाँधली भएको नपाइएकाले कुनै खास जिल्ला वा परीक्षार्थीको उजुरीका आधारमा सबै ठाउँमा अन्तर्वार्ता रोक्का नगर्न अख्तियारलाई आग्रह गरेको भए पनि त्यसको सुनुवाइ नभएको गुनासो गरेका छन् । अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर बिसीले कुनै जिल्ला विशेषमा उजुरी परेका आधारमा देशभरिकै अन्तर्वार्ताका कार्यक्रम रोकिँदा १७ वर्ष पछि खुला भएको शिक्षकको पदपूर्ति कार्य अवरुद्ध भएको बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले पनि अख्तियारको निर्देशनका नाममा सेवा आयोगको अन्तर्वार्ता रोकिएकामा आफूहरु आश्चर्यमा परेको बताए ।

सेवा आयोगले प्राथमिक तहको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us