दिल्लीवासीलाई पानी निःशुल्क

काठमाण्डु टुडे २०७० पुष १६ गते १:४२ मा प्रकाशित

नयाँदिल्ली, १६ पुस–भारतको राजधानी नयाँदिल्लीमा अरबिन्द केजरीवालको नेतृत्वमा बनेको प्रान्तिय सरकारले जनतासँग गरेको आफ्नो पहिलो बाचा पुरा गरेको छ । सरकार गठन भएको तेस्रो दिन पूर्व घोषणा अनुसार दिल्लीका जनतालाई २० हजार लीटर पानी निःशुल्क वितरण गर्ने निर्णय सोमबार केजरीवालले गरेका छन् । विरामी भएर कार्यालय जान नसकेका मुख्यमन्त्री अरबिन्द केजरीवालले आफ्नै घरमा दिल्ली जल बोर्डको बैठक बोलाई यस्तो निर्णय गरेका हुन् ।

निर्णय अनुसार आगामी जनवारी १ तारिखदेखि दिल्लीका जनताले निःशुल्क पानी उभोग गर्न पाउने छन् । निर्णय अनुसार २० हजार लिटर भन्दा बढि पानी प्रयोग गर्नेले भने प्रयोग गरिएको सबै पानी बराबरको पुरै महशुल तिर्नु पर्ने छ ।

दिल्ली जल बोर्डका नवनियुक्त प्रमुख कार्यकारी निर्देशक विजय कुमारका अनुसार घरमा मिटर जोडेकाहरुले नयाँ वर्षको दिनदेखि यो योजना उपभोग गर्न पाउने छन् । यो योजना परिक्षणको रुपमा पहिलो चरणमा आगामी ३ महिनाको लागि लागु हुने छ । पानी उपभोगको पछिल्ला महशुल चुक्ता गर्ने समयावधी पनि सरकारले आगामी वर्ष मार्च महिना सम्मकोलागि बढाएको छ ।

आम आदमी पार्टीको चुनाव घोषणा पत्रका प्रमुख दुई आकर्षण दिल्लीका जनतालाई दैनिक ७ सय लिटर निःशुल्क पानी र विद्युतको महशुलमा आधा कटौती थियो । सरकारले पहिलो बाचा पुरा गरेको छ विद्युतबारे पनि अगामी दुई दिनमा घोषणा गर्ने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us