जनकविकेशरी थापालाई लेखनाथ पुरस्कार

काठमाण्डु टुडे २०७० पुष १५ गते १२:२५ मा प्रकाशित

Dharma raj thapaकाठमाण्डु, १५ पुस – जनकविकेशरी धर्मराज थापा ‘लेखनाथ साहित्य पुरस्कार’ बाट पुरस्कृत भएका छन् ।

कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ३० औं जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्द्वारा राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रकवि तथा परिषद्का अध्यक्ष माधवप्रसाद घिमिरेले सो पुरस्कार प्रदान गरेका हुन् । पचास हजार राशिको सो पुरस्कार लेखनाथ साहित्य प्रतिष्ठान, कास्कीले लेखनाथ जयन्तीका अवसरमा प्रदान गर्दै आएको छ ।

जनकविकेशरीको स्वास्थ्यस्थिति राम्रो नभएका कारण राजधानीमै पुरस्कार प्रदान गरिएको हो ।  सोही कार्यक्रममा शुक्ला साहित्य समिति, पोखराले थापालाई दोसल्ला ओढाएर अभिनन्दन गरेको थियो ।

पञ्चानब्बे वर्षीय राष्ट्रकवि घिमिरेले ९३ वर्षीय जनकविकेशरी थापालाई सम्मान गर्दै अङ्कमाल गरेर पुरानो हार्दिक दौंत्यारीको स्मरण गराएका थिए । धेरै बोल्न नसक्ने अवस्थामा रहनुभएका थापाले प्रसन्न मुद्रामा आफ्नो प्रतिक्रिया व्यक्त गरे ।

कार्यक्रममा परिषद्ले स्थापना गरेको १५ हजार राशिको ‘लेखनाथ प्रतिभा पुरस्कार’ २०६८ सालको त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षामा नेपाली विषयमा सर्वाेत्कृष्ट नतिजा ७१ दशमलव ५ प्रतिशत अंक ल्याउने गोकुल पोखरेललाई प्रदान गरियो । कविशिरोमणिका छोरी कुन्तीदेवी भट्टराईको एक लाख अक्षय कोषबाट स्थापित सो पुरस्कार नेपाली विषयमा उत्कृष्ट हुनेलाई प्रदान गरिन्छ । कोषको राशि हाल तीन लाख छ ।

राष्ट्रकवि घिमिरेले ‘तरूण तपसी’ कृतिका स्रष्टा पौड्यालको जन्मजयन्तीमा ‘हरियो डाँडामाथि, हलो जोत्ने साथी…’ जस्ता चर्चित गीतका स्रष्टा थापालाई पुरस्कृत गर्न पाउनु आफ्ना लागि गर्वको विषय रहेको बताए ।

उनले थापाको स्वास्थ्य लाभको कामना पनि गरे । थापा केही समय अस्पताल भर्ना भई हाल अरूको सहायतामा सामान्य हिँडडुल गर्दै आएका छन् ।

शिक्षा परिषद्का सदस्यसचिव रमा शर्माले सडक विस्तारका क्रममा सोह्रखुट्टेस्थित परिषद्को कार्यालयको विद्यमान भौतिक स्वरूप अर्काे वर्षको लेखनाथ जयन्तीमा देख्न सकिन्न भन्दै चिन्ता व्यक्त गरिन् ।

उनले सम्बन्धित निकायमा आफूहरूले आग्रह गरे पनि ‘तरूण तपसी चौतारो’ र पौड्यालको ‘हीरक जयन्ती स्तम्भ’ मासिन लागेको भन्दै चिन्ता समेत व्यक्त गरेकी थिइन् । कविशिरोमणि पौड्यालको चाहनाअनुसार विसं २००८ मा परिषद्को स्थापना भएको थियो ।

कार्यक्रममा कवि श्रीहरि फुयाँलले ‘तरूण तपसी’ बाट कविताको अंश वाचन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us