कर्मचारी अभावमा पाँच स्वास्थ्य चौकी बन्द

काठमाण्डु टुडे २०७० पुष १५ गते १०:१९ मा प्रकाशित

गोरखा, १५ पुस – जिल्लाको दुर्गम क्षेत्रमा रहेका पाँचवटा स्वास्थ्य चौकी कर्मचारी अभावमा बन्द गरिएको छ ।

जिल्लामा रहेका कुल ५५ वटा उपस्वास्थ्य चौकीमध्ये सिमजुङ, ताक्लुङ, उहियाँ, लाप्राक र केरौंजा उपस्वास्थ्य चौकी बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

सिमजुङ स्वास्थ्य चौकीलाई द मनोज नामक संस्थाले एक महिनाअघि १० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री दिएको र आगामी वैशाखमा एम्बुलेन्स पनि दिने घोषणा गरेको थियो ।

जिल्लाको लापु र आरुपोखरी स्वास्थ्य चौकीमा कार्यालय सहायकको भरमा स्वास्थ्य चौकी सञ्चालन भएको छ । स्वास्थ्य चौकी बन्द भएपछि नियमित खोपका कार्यक्रमसमेत प्रभावित भएको जनस्वास्थ्य प्रशासक विश्वराम श्रेष्ठले बताए ।

स्वास्थ्य सेवा ऐन संशोधन नभएको कारण आयोगले परीक्षा लिन नसकेको र कर्मचारी पूर्ति हुन नसकेको उहाँले बताउनुभयो । जिल्लामा ९२ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको उनको भनाइ छ ।

यसैबीच, गोरखा अस्पतालले सधैँ  निःशुल्क दिने गरेको बहिरङ सेवाको टिकटको शुल्कमा वृद्धि गरी ५० रुपैयाँ पु¥याएको छ ।

अस्पतालले दिने अन्य सेवाहरु निजी क्लिनिकले लिने सरह बनाइएको र सरकारले निःशुल्क दिने गरेको औषधि पनि सोमबार देखि दिन नसकिने अस्पतालका प्रमुख डा केशवराज भुर्तेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us