आगलागीको अनुसन्धानका लागि एक पक्राउ

काठमाण्डु टुडे २०७० पुष १५ गते ८:४३ मा प्रकाशित

दमक, १५ पुस – झापाको सतासीधाममा आगलागीमा परेर ज्यान गुमाएको घटनामा अनुसन्धान गर्न प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय रत्नबहादुर कडरिया रहेका छन् ।

शङ्कास्पद देखिएको यो घटनामा प्रहरीले अनुसन्धानका लागि आगलागीमा ज्यान गुमाएकी मोनिका भट्टराईसँगै मदिरा पिउने कडरियालाई नियन्त्रणमा लिएको हो ।

मृतकसँग सोही दिन राति मदिरा खाएर केही समय बसेका कडरियालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । मोनिका र कडरिया घरमै करिब एक घन्टासम्म मदिरा खाएका खुल्न आएको छ ।

उनी बाहिरिएपछि त्यहाँ आगलागी भएको थियो । कडरियालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी निरीक्षक देवी पौडेलले जानकारी दिए ।

सो घटनामा मोनिकासँगै उनका दुई छोरा १३ वर्षीय निकेश र सात वर्षीय निसानको शनिबार राति जलेर ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us