
रौतहट, १५ पुस – रौतहटको लक्ष्मीनियाँ गाविस–२ विजयपुर टोलमा कुटपिट गरी बाबुको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सत्तरी वर्षीय सुकदेव दास तत्माको गएराति आफ्नै छोराको कुटपिटबाट ज्यान गएपछि प्रहरीले उनका २८ वर्षीय छोरा वीरेन्द्रदास तत्मालाई पक्रिएको हो ।
कुटपिटबाट गम्भीर चोट लागे पछि बेहोस भएका वृद्धको राति नै मृत्यु भएको बताइएको छ ।
स्थानीयवासीले पनि राति बाबु छोराबीच झगडा परेको बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लक्ष्मीनियाँका प्रहरी निरीक्षक जीवन गिरीले बताए ।