कमल थापाको राप्रपा नेपाल विभाजित

काठमाण्डु टुडे २०७० पुष १५ गते १३:२५ मा प्रकाशित

Rppn.jpgकाठमाण्डु, १५ पुस – संविधानसभाको चौंथो ठूलो दल राप्रपा नेपाल विभाजित भएको छ ।

समानुपातिक सभासद चयनका विषयमा असन्तुष्टि जनाउँदै राजाराम श्रेष्ठ, टंक ढकाल, रामकृष्ण आचार्य, धनबहादुर थापा, बद्रिबहादुर केसी लगायत नेताहरुले पार्टीबाट विद्रोह गरेका हुन् ।

राप्रपा नेपालका कुल ४२ जना केन्द्रीय सदस्य मध्ये २० जनाले विद्रोह गरेको नेता श्रेष्ठले जानकारी दिए ।

सभासद चयनमा अध्यक्ष कमल थापाले मनोमानी गरेको भन्दै पार्टीमा तिब्र असन्तुष्टि देखिएको थियो । असन्तुष्टि सम्बोधन गर्नुको साटो त्यसलाई बेवास्था गर्दै अध्यक्ष थापा भारततर्फ लागेपछि थप असन्तुष्टि बढेको थियो ।

पार्टीबाट विद्रोह गरेका नेताहरुले ‘नेपाली राप्रपा’ नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

सैद्धान्तिक विषयमा समेत मतभेद देखिएकाले विद्रोह गर्नुपरेको नेता श्रेष्ठले बताए । ‘पार्टीका मुलभुत सिद्धान्त र एजेण्डाहरुको समेत जगेर्ना गर्नुपर्ने भयो, श्रेष्ठले भने, ‘सोही कारण नयाँ पार्टी गठन गरेका हौं ।

जनमतको कदर भएन
पार्टी फुटको कारण के हो त ? भन्ने काठमाण्डु टुडेको जिज्ञासामा श्रेष्ठले भने, ‘समानुपातिक सभासद चयनमा भएको मनोमानी, राजनीतिक विचार र सिद्धान्तमा देखिएको विचलन, पार्टी नेतृत्वले जनमतको कदर नगर्नु, राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउनेतर्फ केन्द्रीत हुन नसक्नुजस्ता कारणले नयाँ पार्टी गठनको आवश्यकता देखियो ।’

राजतन्त्र र हिन्दु राज्य नछोड्ने
राप्रपा नेपालले अंगिकार गरेको सिद्धान्तमा प्रतिवद्ध रहने श्रेष्ठले बताए । ‘हामी पार्टीको सिद्धान्तप्रति प्रतिवद्ध छौं, श्रेष्ठले भने, ‘त्यसमै अडिग रहँदै अघि बढ्ने छौं ।’ संवैधानिक राजतन्त्र र हिन्दु राज्यको मागमा अडिग रहने श्रेष्ठको संकेत छ ।

सभासदको छुट्टै नामावली
विद्रोह गरेका नेताहरुले समानुपातितर्फ सभासदको छुट्टै नामावली बुझाएपनि निर्वाचन आयोगले अश्विकार गरिदिएको छ । छुट्टै नामावली लिएर असन्तुष्ट नेताहरु निर्वाचन आयोग पुगेका थिए । राप्रपा नेपालले समानुपातिकतर्फ कुल २४ सिट जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us