पूर्वाञ्चलमा मनोज ग्यास अभाव

काठमाण्डु टुडे २०७० पुष १५ गते ६:३२ मा प्रकाशित

imagesविराटनगर, १५ पुस – पूर्वाञ्चलमा खाना पकाउने मनोज ग्यासको अभाव भएको छ । पर्साको वीरगन्जमा रहेको मनोज ग्यास उद्योगले पूर्वाञ्चलमा ग्यास उपलव्ध नगराउँदा उपभोक्ता मर्कामा परेका छन् ।

यस उद्योगको पूर्वाञ्चल क्षेत्रमा विराटनगर, इटहरी,  धरान र धनकुटालगायतका शहरमा आधा दर्जन बिक्रेता रहेका छन् । बिक्रेतालाई ग्यास सिलिन्डर नदिँदा बिक्री वितरणमा समस्या आएको बताइएको छ ।

विराटनगरमा मासिक दुई हजार ग्यास सिलिन्डर दिने सो उद्योगले एक हजार ग्यास सिलिन्डर दिन समेत आनाकानी गरेकाले उपभोक्ता अन्य ग्यास सिलिन्डर खरिद गर्न वाध्य भएका छन् ।

साथै सो कम्पनीका खाली सिलिन्डर अन्य ग्यास कम्पनीको डिलरमा साट्न जाँदा साट्ने गरिएको छैन ।

त्यस्तै धरानमा मासिक करिब पाँच हजार ग्यास सिलिन्डर बिक्री वितरण हुने स्थानमा अहिले दुई हजार ग्यास सिलिन्डर मात्र उपलब्ध गराइएको सो उद्योगका धरान डिलर गोपालराज मास्केले बताए । पूर्वाञ्चलमा सो कम्पनीका करिब १० हजार सिलिन्डर बिक्री वितरण हुने गरेको छ ।

उता मनोज ग्यासका पदाधिकारीले सरकारले समयमा ग्यास उपलब्ध नगराउँदा ग्यास वितरणमा समस्या आएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us