एमालेमा कसरी गोल्छाको नाम सर्वसम्मत ?

काठमाण्डु टुडे २०७० पुष १५ गते ५:४८ मा प्रकाशित

Ram-Kumari-jhakriकाठमाण्डु, १५ पुस–समानुपातिक सभासद चयनलाई लिएर नेकपा एमालेमा असन्तुष्टि चुलिएको छ । असन्तुष्ट एमाले कार्यकर्ताहरुले बिभिन्न जिल्लाका पार्टी कार्यालयहरुमा तालाबन्दी गरेका छन् ।

समानुपातिक सभासदको अन्तिम सूचीमा जिल्लाबाट एकजना पनि प्रतिनिधि नपरेपछि एमाले कार्यकर्ताहरुले नुवाकोट पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । नुवाकोटबाट महेन्द्रबहादुर पाण्डे र श्रीमाया लामा समानुपातिक सभासद्को बन्दसूचीमा परे पनि निर्वाचन आयोगमा बुझाइएको अन्तिम सूचीमा दुवैको नाम नभएपछि कार्यकर्ताहरु रुष्ट छन् । यसैगरी समानुपातिक उम्मेदवार चयनमा पार्टीले उपेक्षा गरेको र संविधान निर्माण जस्तो महत्वपूर्ण ठाउँमा कुनै पनि भूमिका नदिइएको भन्दै सोलुखुम्बु जिल्ला कमिटीका सबै पदाधिकारीहरुले सामूहिक राजिनामा दिएका छन् । जिल्ला कमिटीले पार्टीको नाममा रहेको चल–अचल सम्पत्ति स्थायी कमिटीलाई बुझाउने निर्णयसमेत गरेको छ ।

समानुपातिक सभासद बनाउने आश्वासनमा प्रत्यक्षतर्फको टिकट फिर्ता गरेका अभिनेता भुवन केसीले पत्रकार सम्मेलन गरी असन्तुष्टि व्यक्त गरिसकेका छन् । काठमाण्डुमा आइतबार पत्रकार सम्मेलन गरी केसीले समानुपातिक सभासद बनाउने भनेर आफूलाई आश्वासन दिए पनि अहिले नबनाउँदा सिंगो चलचित्र जगत दुःखी भएको गुनासो गरेका थिए ।

उनकै नाम सर्वसम्मति हुने कुन बुटीको काम होला ?

दोस्रो जनआन्दोलनको बेला प्रहरीको लाठि खाएर रगत बगाउने युवा नेतृ रामकुमारी झाँक्री लगायत युवा नेताहरुको नाम समानुपातिक सभासदको सूचीमा परेन । तर, पार्टीलाई चन्दा दिएको भरमा व्यापारिक घरानाकी राज्यलक्ष्मी गोल्छाले सभासद पद पड्काइन् । यसले धेरै एमाले कार्यकर्तालाई आश्चर्य चकित पारेको छ ।

अनेरास्ववियुकी पूर्व अध्यक्ष रामकुमारी झाँक्रीले पार्टीमा गोल्छाको नाम सर्वसम्मत हुनुको कारणबारे जिज्ञासा राखेकी छन् । झाँक्रीले सामाजिक सन्जाल फेसबुकमा लेख्छिन्, ‘विराटनगर बस्ने गोल्छा परिवार की राज्य लक्ष्मी गोल्छाको नाम नेकपा एमालेको बन्दसूचीमा परेको रहेछ । सो नाम हटाइ पाऊँ भनि २०७०।६।२० मा मोरड जिल्लाको निर्बाचन कार्यलयमा निवेदन दिदा पनि उनैको नाममा स्थायी कमिटीमा सर्वसम्मति हुने कुन बुटीको काम होला ? जान्ने, थाहा पाउने ईच्छा छ । राप्रपा नेपाल र एमालेको सूचीमा परी एमालेको सभासद हुनुभयो । पार्टी प्रणाली मैले किन बुझ्न सकिन ?? सिक्ने प्रयास गर्दैछु ।’

एमाले नेता सुवासचन्द्र नेम्वाङले आइतबार भक्तपुरमा भएको साक्षात्कारमा एमालेले समानुपातिक सभासद चयन गर्दा कमजोरी गरेको बताइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us