जनवादलाई न्याय दिन के गर्ने ?

काठमाण्डु टुडे २०७० पुष १५ गते ५:२५ मा प्रकाशित

Janardhan-Sharma-Pravakarकाठमाण्डु, १५ पुस– एकीकृत नेकपा माओवादीले दोस्रो संविधानसभा चुनावमा नराम्रोसँग पराजय व्यहोरेपछिको बहस र चर्चा अझै सेलाएको छैन । कतिपयले नेतृत्वको नैतिकतामा प्रश्न उठाएका छन् भने कतिपयले एमाओवादी विरोधी षडयन्त्रकारीतर्फ औंला सोझ्याएका छन् ।

केन्द्रीय कार्यालय, पूर्वपोलिटव्युरो र केन्द्रीय समितिसम्मको बैठकमा गरिएको समिक्षाले हार्नुमा आन्तरिक र बाह्य दुबै कारण भएको निष्कर्ष निकालेको छ । आन्तररिक कारणमध्ये मुख्य गरी पार्टीका नेता र कार्यकर्ताबीच बढेको दुरी तथा त्यसले तल्लो तहका सर्बसाधारण जनतामा परेको नकारात्मक प्रभाव हो भन्नेमा पार्टीभित्र एकमत नै छ । त्यसैले अब पार्टीभित्र ब्यापक शुद्धिकरण र सुदृढिकरण गर्नुपर्छ भन्ने निष्कर्षमा नेताहरु पुगेका छन् ।

त्यसको लागि निर्वाचन प्रकृयाद्वारा तलदेखि माथिसम्म नेतृत्व निर्माण गर्नुपर्छ भन्ने कुरा एमाओवादीभित्र चर्चामा छ । यस कुरालाई प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले पनि विशेष जोड दिदै आएका छन् । अध्यक्ष प्रचण्ड निकट मानिने शर्माले सामाजिक सन्जाल फेसबुकमार्फत् निर्वाचन प्रक्रियाबाट नेतृत्व निर्माण प्रक्रिया गर्नुपर्ने आफ्नो अडान सार्बजनिक गरेका छन् । यसो गर्दा व्यक्ति–व्यक्तिमा असन्तुष्टि नहुने उनको दावी छ । ‘निर्वाचन प्रक्रियाद्वारा नेतृत्व निर्माणको प्रक्रियालाई लागु गर्ने हो भने व्यक्ति–व्यक्तिमा पलाउने असन्तुष्टि पनि नहुने, नेतृत्वमा प्रेसर पनि नपर्ने,’ उनको फेसबुक स्टाटसमा उल्लेख छ ।

बृहत जनवादको प्रस्तावले न्याय नपाएको अवस्थामा त्यसरी नेतृत्व चयन गर्दा सबै क्षेत्रको प्रतिनिधित्व सुश्चित हुने विधि अपनाउनु पर्ने नेता प्रभाकरको तर्क छ । उनी अगाडि लेख्छन्, सबै क्षेत्रको प्रतिनिधित्वको सुनिश्चितताको विधि निर्माण गरेमा कुनै क्षेत्र पनि नछुट्ने भएकाले सबै तिरको प्रतिनिधित्वले पार्टी निर्माणको प्रक्रियामा नयाँ मोड लिने र महाधिवेशनमा सबैभन्दा समय खर्चेको, महत्व दिएको वृहत जनवादको प्रस्तावले पनि न्याय पाउने छ ।’

यसअघि बरिष्ठ नेता डा. बाबुराम भट्टराईले तल्लोदेखि माथिल्लो तहसम्म निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने र नेतृत्व दुई कार्यकालसम्म रहन नहुने आफ्नो धारणा फेसबुकमार्फत् सार्बजनिक गरेका थिए । धेरैले भट्टराईले प्रचण्डलाई अध्यक्षपदबाट हटाउने खेलमा यो धारणा सार्बजनिक गरेको अड्कल पनि काटे । तर, प्रचण्ड निकट नेता प्रभाकरले यो प्रस्ताव सबैभन्दा पहिले प्रचण्डले ल्याएको र भट्टराईले सार्बजनिक गरेको काठमाण्डु टुडेलाई बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us