
काठमाण्डु, १५ पुस– तमु (गुरुङ) समुदायको महान् चाड ल्होछार सोमबार हर्सोउल्लासका साथ मनाइदैछ । देश भित्र र बाहिर रहेका गुरुङ समुदायले सामुहिक रुपमा ल्होछार अर्थात नयाँ वर्षको स्वागतसँगै मिठा परिकार खाइ एकअर्कामा शुभकामना आदानप्रदान गरेर मनाउदैछन् ।
हरेक १२ वर्षमा युग परिवर्तन हुने विश्वासका साथ १२ वर्षमा १२ वटा पशु पंक्षिको नाममा वर्ग चक्रिय रुपमा परिर्वतन हुने गर्दछ । यो वर्ष सर्प वर्गको विदाइ गरि घोडा वर्गको स्वागत गरिएको हो । तमु समुदायले आजदेखि धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार सर्प बर्गलाई बिदाइ गरी घोडा वर्गलाई स्वागत गरिसकेका छन् ।
टुँडिखेलमा विशेष कार्यक्रम
काठमाण्डु उपत्यकामा बसोबास गर्ने तमुहरुले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेका छन् । तमु ल्होछार मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सोमबार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी समेत सहभागी हुनेछन् । त्यसअघि सांस्कृतिक झाँकीसहितको र्याली निकालिने छ । कार्यक्रममा तमु समुदायको संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम, परिकारहरुको प्रदर्शनी लगायत अन्य विभिन्न कार्यक्रम हुने मुल आयोजक समिति संयोजक टेक बहादुर गुरुङले जानकारी दिए । ।
तमु समुदायलाई शुभकामना
सरकारले ल्होछारको अवसरमा सोमबार सार्बजनिक विदा दिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद अध्यक्ष र बिभिन्न दलका शीर्ष नेताहरुले देश भित्र र बाहिर रहेका सबै तमु समुदायलाई ल्होछारको शुभकामना दिएका छन् ।
आज १५ पुस, बिभिन्न तरिकाले मनाईंदै
आज पुस १५, हिन्दू परम्परा अनुसार घरमा मिठा परिकार बनाइ खाएर मनाईदै छ । आज अनदी चामल मार्फत् बनाईएको खाना लट्टे, घिउ, चाकु, खुदो, मह लगाएत राखेर बनाइएको परिकार बनाएर खाने चलन छ । पुस १५ लाई मध्ये जाडोको रुपमा समेत लिईने हुनाले यस्ता गुलिया र चिल्ला खालका खानेकुरा खानाले शरिर तातो हुने र चिसोले नभेट्ने जनविश्वास रही आएको छ ।
आजको दिनमा आफन्तहरुलाई घरमा बोलाएर मिठा मिठा परिकार खाई रमाईलो गर्ने चलन छ । आज दिन र रात बराबर हुने गर्दछ । यस्तै आजैदेखि दिन लामो र रात छोटो हुदै जान्छ ।