
काठमाण्डु, १५ पुस– एकीकृत नेकपा माओवादीलगायत दलले समानुपातिक सभासदहरुको सूची सोमबार निर्वाचन आयोगमा बुझाउदै छन् । सूचीलाई अन्तिम रुप दिन दलहरु आन्तरिक छलफलमा व्यस्त छन् ।
स्राेतका अनुसार एकीकृत नेकपा माओवादीले समानुपातिक सभासदको सूची तयार पारेको छ । सूचीलाई सोमबार केन्द्रीय कार्यालयले अन्तिम रुप दिएर निर्वाचन आयोगमा बुझाउने एमाओवादीले जनाएको छ ।
आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले पाँच बुँदे मापदण्ड पारित गर्दै सोही मापदण्डको आधारमा सभासदको अन्तिम सूची तयार पार्न केन्द्रीय कार्यालयलाई जिम्मा दिएको थियो । केन्द्रीय कार्यालयमा अध्यक्ष प्रचण्ड, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी रहेका छन् ।
‘मोटामोटी रुपमा सूची तयार भैसक्यो,’ प्रवक्ता अग्नी सापकोटाले भने, ‘आज फाइनल गरेर निर्वाचन आयोगमा बुझाउँछौं ।’
माओवादीले लाभका पद धारण गरेकालाई सभासद नबनाउने मापदण्ड तोकेको छ । यस्तै प्रत्यक्ष तर्फको चुनाव नजितेको जिल्ला, जनयुद्धका घाईते, अपाङ्ग, शहिद परिवार र नयाँलाई प्राथमिकतामा राख्ने भएको छ । एमाओवादीले समानुपातिक तर्फ ५४ सिट पाएको छ ।