
एकीकृत माओवादी जस्तै कांग्रेसले पनि अन्तिम दिन समानुपातिक सभासदको सूची बुझाउने भएको छ
सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र तेश्रो ठूलो दल एकीकृत नेकपा माओवादीले आ-आफ्नो भागमा परेका समानुपातिक प्रणाली तर्फका सभासदको सूचि निर्वाचन आयोगले तेश्रो पल्ट थपिदिएको म्याद सकिने दिन सोमवार मात्र बुझाउने भएका छन्।
कांग्रेस अबेर रातीसम्ममा भए पनि सभासद छान्ने भन्दै बैठकमा व्यस्त थियो।
एकीकृत माओवादीको केन्द्रीय समितिले भने त्यो जिम्मा केन्द्रीय कार्यालयलाई सुम्पिएको छ।
उक्त दलका प्रवक्ता अग्नि सापकोटाले भने, “केन्द्रीय समितिको बैठकले समानुपातिक तर्फका सभासदको सूचीलाई अन्तिम रुप दिइ निर्वाचन आयोगलाई बुझाउन केन्द्रीय कार्यालयलाई सुम्पिने निर्णय गरेको छ।”
निर्वाचन आयोगका अनुसार म्याद सकिनु अघिल्लो दिनसम्म ३० मध्ये १६ वटा दलले मात्र समानुपातिक तर्फका सभासदको नाम बुझाएका छन्।
आइतवार राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र आफ्ना सभासदको सूची बुझाएको हो।
सूची बुझाउन बाँकी १४ दल मध्येको एक एकीकृत माओवादीको केन्द्रिय समितिले सभासदको टुंगो लगाउने भनिएको थियो।
तर ठूलो आकारको केन्द्रिय समितिमा प्रत्येक नामहरुमा छलफल गर्दा बहस र विवाद उत्पन्न हुनसक्ने ठानेर पार्टी नेतृत्व तहले औपचारिकता निर्वाह गरी त्यो जिम्मेवारी आफैले लिएको कतिपय जानकारको ठम्याई छ।
एमाले स्थायी कमिटीको बैठकले टुंग्याएको सभासदको सूचीलाई लिएर उक्त पार्टीभित्र सानो-तिनो विवाद र असन्तुष्टि प्रकट गराइ दिएको छ।
त्यस्तै कांग्रेस र एमाओवादीका समानुपातिक सभासदका अनुहार कस्ता होलान् भन्ने धरैको चासो थियो।
तर नेपाली कांग्रेस संसदीय बोर्डको आइतबार अवेर साँझसम्म जारी बैठक आ-आफ्ना पक्षकालाई सभासद बनाउने शीर्ष नेताहरुबीचको होडका कारण लम्बिएको बताइएको छ। BBC