
दक्षिणी रुसी शहर भोल्गोग्रादको केन्द्रिय रेलवे स्टेशनमा एकजना आत्मघाती बम हमलाकारीले बम विष्फोट गराएपछि रुस सरकारले विमानस्थल तथा रेलवे स्टेशनहरुमा सुरक्षाव्यवस्था कडा तुल्याउन आदेश दिएको छ। उक्त हमलामा परी कम्तीमा चौधजनाको ज्यान गएको छ भने अरु कैयौं घाइते भएका छन्।नयाँ वर्षको छुट्टी अघि यात्रुहरुको भीडभाड रहेका बेला उक्त हमला गरिएको थियो।
स्थानीय समय अनुसार दिउँसो पौने एकबजे तिर सो विष्फोट भएको थियो। झ्यालका सिसाहरु फुटनुकासाथै धुवाँको मुस्लो निस्किएको थियो।आफ्नो नाम भ्लादिमिर बताउने एकजना प्रत्यक्षदर्शीले भने, “म विष्फोट भएको ठाउँबाट नजीकै थिएँ। मैले एउटा विष्फोटन सुनें र त्यसतर्फ दौडिएँ। मैले त्यहाँ उडेका झ्याल, ढोका, धातुहरु र एउटा लाश पनि देखें।”
भोल्गोग्राद शहर राजधानी मस्कोभन्दा झण्डै नौ सय किलोमिटर दक्षिणमा परद्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कानुन कार्यान्वयन गर्ने निकायहरुलाई सुरक्षा संबन्धी सबै आवश्यक कदम उठाउन निर्देशन दिएका छन्।
उनले घाइतेहरुलाई मस्कोमा ल्याएर उपचार गर्न पनि आदेश दिएका छन्।ती हमलाको कसैले जिम्मा लिएको छैन।रुसको आतंकवाद विरोधी निकायले उक्त हमला एकजना आत्मघाती बम हमलाकारी महिलाले गराएको जनाएको छ।
देशभरिका विमानस्थल तथा रेलवे स्टेशनहरुमा सुरक्षा व्यवस्था कडा पारिएको संघीय प्रहरीका एकजना प्रवक्ताले बताए।रुसी अधिकारीहरु आउँदो जाडो याममा सोची शहरमा आयोजना गरिन लागेको ओलम्पिक खेल अघि उग्रवादी समूहहरुले हिंसा बढाउने योजना बनाएको हुनसक्ने भनि चिन्तित छन्।
गएको जुलाई महिनामा एकजना चेचेन विद्रोही नेता डोकु उमारोभले इन्टरनेटमा प्रकाशित एउटा भिडियोमा उग्रवादीहरुलाई उक्त खेल रोक्न अत्यधिक शक्ति प्रयोग गर्न आह्वान गरेका थिए।
गत शुक्रबार रुसको प्यातिगोर्स्क शहरमा गराईएको एक कार बम हमलामा तीनजनाको ज्यान गएको थियो।त्यस्तै गत अक्टोबर महिनामा अशान्त छिमेकी दागेस्तान प्रान्तमा एकजना महिला आत्मघाती बम हमलाकारीले एउटा बसमा गरेको हमलामा छ जनाको ज्यान गएको थियो। BBC