लक्ष्मीकली उत्कृष्ट हात्ती

काठमाण्डु टुडे २०७० पुष १४ गते १४:५८ मा प्रकाशित

Elephantचितवन, १४ पुस– चितवनको सौराहामा जारी हात्ती महोत्सवअन्तर्गत हात्ती सुन्दरी प्रतियोगितामा लक्ष्मीकलीले उत्कृष्ट हात्ती सुन्दरीको ताज पहिरिएको छ ।

आइतबार भएको अन्तिम प्रतिस्पर्धामा पिङ्कीकली र प्रकृतिकलीलाई पछि पार्दै लक्ष्मीकलीले उत्कृष्ट हात्ती सुन्दरीको ताज पहिरिएको हो ।

चौध वर्षीय युनाइटेड हात्ती सफारीको लक्ष्मीकलीले ८५ दशमलव ७ प्रतिशत अङ्क ल्याउँदै प्रथम भएको नतिजा सार्वजनिक समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।

त्यस्तै फस्ट रनरअप युनाइटेड हात्ती सफारीको पिङ्कीकलीले ७७ दशमलव ६ अङ्क तथा सेकेन्ड रनरअप राष्ट्रिय प्रकृति संरक्षण कोषको प्रकृतिकलीले ७२ दशमलव ३ अंक ल्याएको थियो ।

प्रतियोगितामा पाँच हात्ती सहभागी गराइएकामा पहिलो चरणबाट तीन हात्ती अन्तिम प्रतिस्पर्धामा थिए । हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, माउतेको सरसफाइको मूल्याङ्कनका आधारमा निर्णय गरिएको थियो ।

यस्तै महोत्सवमै जारी अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगितामा थप तीन हात्ती अन्तिम चरणमा प्रवेश गरेका छन् । फाइनल प्रवेश गरेका तीन वटै हात्ती नेपाली हुन् ।

आइतबार भएको सेमिफाइनल चरणको खेलमा चितवन राष्ट्रिय निकुञ्जको बहादुर गज, फेवा टुर्स एन्ड ट्राभलको चम्पाकली र कोल्ड फिट एडभेन्चरको बम्वोजकली क्रमशः प्रथम, द्वितीय र तृतीय हुँदै फाइनलमा प्रवेश गरेको नतिजा सार्वजनिक समितिका संयोजक तिवारीले जानकारी दिनुभयो ।

गत वर्षको विजेतासमेत बहादुर गजले निर्धारित दूरी एक मिनेट दुई सेकेन्डमा पूरा ग¥यो । चम्पाकलीले निर्धारित दूरी एक मिनेट २१ सेकेन्ड र बम्वोज कलीले एक मिनेट २६ सेकेन्डमा दूरी पार गर्न सफल भए ।

फाइनल खेल सोमबार हुने छ । पहिलो सेमिफाइनलबाट हाइवे स्टारको एकताकली, रानी अस्ट्रेलियनको कोसीकली र माउन्ट एभरेस्ट ब्रुअरीको मारुतीकली फाइनलमा पुगिसकेका छन् ।

यसैबीच हात्तीका छावाको फुटबलमा सिजी फुड्सले तेस्रो स्थान प्राप्त गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा सिजी फुड्सले टुरिजम डेभलपमेन्ट बैंकलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

फाइनलमा भने सोमबार किस्ट बैंक र लायन्स क्लब भिड्ने छन् । यसैगरी टाँगा दौडको उपाधि भने कान्छाले चलाएको टाँगाले जितेको छ । हरिन्द्रले चलाएको द्वितीय तथा लालबहादुरले चलाएको टाँगा तृतीय भए ।

फाइनलमा छ टाँगाबीच प्रतिस्पर्धा भएको थियो । गाडा दौडमा भने सुकई महतोले चलाएको गाढा प्रथम, सौमन महतो द्वितीय तथा भगवती महतोले चलाएको गाडा तृतीय भएका छन्  । गाडा दौडको अन्तिम प्रतिस्पर्धामा पनि छ गाडा सहभागी थिए ।  महोत्सव सोमबारसम्म चल्ने छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us