अलैँचीको भाउ उच्च बिन्दुमा

काठमाण्डु टुडे २०७० पुष १४ गते १३:२४ मा प्रकाशित

3512102-300x210झापा, १४ पुस – नेपालमा अलैँचीको भाउ यो वर्षकै उच्च बिन्दुमा पुगेको छ । झापाको विर्तामोडस्थित नेपाल अलैँची व्यवसायी महासंघले जनाएअनुसार आइतबार अलैँचीको बजार मूल्य प्रतिमन ६५ हजार कायम भएको छ ।

महासंघका उपाध्यक्ष निर्मल भट्टराईले यो मूल्य यस वर्षकै उच्च भएको बताए ।

गत वर्ष अहिलेसम्मकै उच्च मूल्य अर्थात् ७२ हजार प्रतिमनमा अलैँची किनबेच भएको थियो । अलैँची व्यवसायीका अनुसार यो वर्ष कात्तिक महिनादेखि अलैँचीको भाउ लगातार उकालो लागिरहेको छ । दसैँअघि यसको भाउ प्रतिमन रु ४५ हजारमात्र थियो ।

पूर्वी पहाडी जिल्लामा अलैँचीको व्यावसायिकखेती हुँदै आएको छ । महँगो मूल्यमा बिक्ने भएकाले यसलाई खोल्सामा फल्ने सुन पनि भन्ने गरिन्छ । इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा र सोलुखुम्बुमा यसको बढी उत्पादन हुने गरेको छ ।

केही वर्षदेखि गोरखा, लमजुङलगायतका पश्चिमी जिल्लामा पनि यसको खेती सुरु गरिएको छ ।

अलैँचीको भाउ उच्च बिन्दुमा पुगे पनि गाउँका किसान उचित मूल्य पाउनबाट वञ्चित भएका छन् । किसानले बेच्ने बेला असोज र कात्तिकतिर यसको भाउ ४५ हजारदेखि ५० हजार प्रतिमनमात्र रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us