
काठमाण्डु, १४ पुस – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाण्डु उपत्यकाको सडक विस्तार तीव्र गतिमा अघि बढाउन सम्बद्ध निकायका अधिकारीलाई निर्देशन दिएका छन् ।
काठमाण्डु उपत्यका विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिको समीक्षा बैठकमा अध्यक्ष रेग्मीले कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका हुन् ।
संविधानसभा निर्वाचनका कारण निर्माणको काममा केही ढिलाइ भए पनि अब कुनै किसिमको बिलम्व नगरी सम्बन्धित निकायले पारस्परिक समन्वय कायम गर्दै काम गर्नुपर्नेमा उनको जोड छ ।
सडक विस्तार गर्दा पनि सरोकार भएकाहरुको मन जितेर कार्यस्थलमा जान सम्बन्धित अधिकारीलाई आग्रह गर्दै रेग्मीले धेरै ठाउँमा संरचना भत्काएर सडक विस्तार गर्ने तर, समयमै निर्माण सम्पन्न नगर्दा जनस्वास्थ्यमा असर पर्ने विषयलाई गम्भीर रुपमा लिन आग्रह गरे ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री छविराज पन्तले माइतीघर मण्डलादेखि तीनकुने तथा लैनचौर– बूढानीलकण्ठसम्मको सडक निर्माणमा प्राथमिकता दिन आग्रह गरेका थिए । यस्तै अर्थसचिव शान्तराज सुवेदीले विस्तारित सडकको काम पूरा गर्न बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।