जबर्जस्ती करणीबाट बच्चा जन्माएकी किशोरीले न्याय पाइनन्

काठमाण्डु टुडे २०७० पुष १४ गते ११:३५ मा प्रकाशित

rapeeगुल्मी, १४ पुस– एक वर्षअघि एक विवाहित पुरुषको जबर्जस्ती करणीबाट जन्मिएको शिशुु बेवारिसे बनाउँदै गुल्मी हवाङ्दी गाविसकी एक दलित किशोरी न्याय नपाएर अलपत्र परेकी छिन् ।

हवाङ्दी गाविस ७ चित्रबहादुर एक युवतीले बच्चा जन्माए पनि घर्तिमगर भागेपछि किशोरी अलपत्र परेकी हुन् । गत वर्ष जबर्जस्ती करणी गरी सन्तान जन्माएर मगरले त्यो सन्तान आफ्नो हो भनी स्वीकार गरे पनि पछि परिवारले उनलाई भगाएपछि ती किशोरी अलपत्र परेकी हुन् । उनले गत चैत २० गते छोरा जन्माएकी थिइन् ।

‘किशोरीले, हामी गाउँका भद्रभलादमीका माझ चित्रबहादुरलाई पोलेपछि उनले त्यो सन्तान स्वीकार गरेका थिए’ स्थानीय हिमानसिंह बुढाले भने, ‘पछि उनकी जेठी श्रीमतीले वडा नम्बर ७ का महिलाको समूह ल्याएर पीडित किशोरीलाई ज्यान मार्नेसम्मको धम्की दिँदै मगरलाई घरबाटै भगाएपछि उनी अलपत्र परेकी हुन् ।’

सम्पत्तिका नाममा बास मात्रै भएकी पीडित किशोरीकी आमाले दैनिक मजदुरी गरेर घर चलाउँदै आएकीले न्यायका लागि तम्घाससम्म आउने बाटो खर्चको जोह उति बेला गर्न नसकेर त्यतिकै बसेको बुढाले बताए ।

त्यो कुराको उजुरी गरेपछि गाउँमा कतिपयले ऐंचोपैंचोसमेत रोकेका थिए भने कैयौंले बेखर्ची सुत्केरीलाई मानोमुठी उठाएर सुत्केरी उतारेका थिए । अहिले उनले न्यायका लागि पहल गरी दिन जिल्लाका दलित अधिकारकर्मीसँग आग्रह समेत गरेकी छन् ।

जिल्लामा गैरदलितको गर्भधारणबाट जन्मिएको सन्तान लिएर माइतीमै अलपत्र परेका दलित समुदायका कुमारी आमा दर्जनौँको सङ्ख्यामा रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us