महोत्तरीमा चिनी उत्पादन सुरु

काठमाण्डु टुडे २०७० पुष १४ गते ११:२६ मा प्रकाशित

Sugarfactoryगौशाला, १४ पुस– मूल्य निर्धारणको विवादले लामो समयदेखि बन्द रहेको महोत्तरीको रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजमा चिनी उत्पादनको काम सुरु भएको छ ।

उखु उत्पादक कृषक संघ महोत्तरीको अगुवाइमा आन्दोलनरत उखु किसानहरू र चिनी उद्योगबीच आगामी माघ मसान्तभित्र मूल्य निर्धारण गर्न भएको सम्झौताअनुरूप दुई दिनदेखि रामनगरमा उखु क्रसिङको काम जोडतोडका साथ चलिरहेको सो उद्योगका उखु प्रबन्धक युगलकिशोर चौरसियाले बताए ।

अहिले उखु किसान र चिनी उद्योगले उखुको मूल्य शून्य राखेर काम सुरु गरेका छन् भने माघ मसान्तभित्र दररेट कायम गरेर भुक्तानी दिइने सहमति भएको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए ।

यसबीचमा उखु किसानले पेश्की रकम लिन चाहेमा चिनी उद्योगसम्म उखु पुर्‍याउने किसानले प्रतिक्विन्टल चारसय र काँटासम्म उखु पुर्‍याउने किसानले प्रतिक्विन्टल ३ सय ७५ पाउने सहमति भएको छ ।

नयाँ दररेट कायम गर्नुपर्ने माग राख्दै करिब डेढ महिना लामो आन्दोलन गर्दै आएका उखु किसानले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० हुनुपर्ने माग राख्दै आएका छन् भने चिनी उद्योगले गत वर्षभन्दा पनि कम ४ सय ६० मात्रै दिने अडान राख्दै आएका छन् ।

गत वर्ष किसानले प्रतिक्विन्टल ४ सय ८१ मा उखु बेचेका थिए भने यस वर्ष उत्पादनमा बढी खर्च भएकाले प्रतिक्विन्टल ६ सय ५० मागेका थिए ।

चिनी उद्योगले चिनीको मूल्यमा वृद्धि नभएका कारण उखु किसानको दररेटमा किन्न नसकिने भन्दै प्रतिक्विन्टल ४ सय ६० मा कारोबार गर्न भन्दै आएको थियो ।

प्रबन्धक चौरसियाले आगामी माघ मसान्तभित्र उद्योग र उखु किसानबीच गत वर्षको दररेट प्रतिक्विन्टल ४ सय ८१ मा सहमति हुन सक्ने सम्भावना रहेको बताए । विगत दुई दिनदेखि यहाँ दैनिक ३० हजार क्विन्टल उखु क्रसिङ भइरहेको चिनी उद्योगले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us