सभासद छान्ने जिम्मा केन्द्रीय कार्यालयलाई

काठमाण्डु टुडे २०७० पुष १४ गते ९:५६ मा प्रकाशित

Perisdadaकाठमाण्डु, १४ पुस – एकीकृत नेकपा माओवादीका तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सभासदहरुको अन्तिम टुंगो केन्द्रीय कार्यालयले लगाउने भएको छ ।

आइतबार पार्टी मुख्यालय कोटोश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले सभासद चयनको जिम्मा केन्द्रीय कार्यालयलाई दिने निर्णय गरेको हो । साथै बैठकले सभासद चयनका लागि पाँच बुँदे मापदण्ड पारित गरेको छ ।

३ सय ३२ जना उम्मेदवारको सूचीबाट मात्र ५४ जना सभासद बन्ने छन् । पार्टीले ३ सय ३५ जनाकै नामावली बुझाए पनि बालकृष्ण ढुंगेल सहितका ३ जनाको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो ।

एमाओवादीले प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएका जिल्लालाई प्राथमिकतामा राखेर समानुपातिक सभासद चयन गर्ने बताइएको छ । बैठकमा नेताहरुले शहिद तथा बेपत्ता परिवार, घाइते अपाङ्ग र पार्टीमा लामो समय योगदान गरेकालाई स्थान दिनुपर्ने बताएका थिए ।

केन्द्रीय समितिको बैठक यही पुस २६ गते बिहान ११ बजे पुनः बस्नेगरी स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us