सिरियाका रासायनिक हतियारको व्यवस्थापन चाँडै हुने

काठमाण्डु टुडे २०७० पुष १४ गते ९:२६ मा प्रकाशित

न्यूयोर्क, १४ पुस– संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले सिरियामा रहेका रासायनिक हतियारको व्यवस्थापन छिट्टै गरिने बताएका छन् ।

सिरियाका हतियारको व्यस्थापनमा ढिलाई भइरहेको बताइएका बेला उनले ती हतियारको व्यवस्थापनको काम चाँडै सुरुहुने जानकारी बताएका हुन् ।

प्राविधिक कारणले गर्दा ती हतियार हटाउने काममा केही ढिलाई भएको बताइएको छ । यसअघि ती हतियार सिरियाबाट हटाउने काम यही डिसेम्बर ३१ देखि गर्ने भनिएको थियो ।

महासचिव बानले निकालिएको वज्ञप्तीमा भनिएको छ, ‘प्राविधक कारणले ती हतियारको ढुवानीमा कठिनाई उत्पन्न भएको हो र ती कठिनाईलाई हटाउँदै काम थालिने छ ।’

बानले ती हतियार हटाउनका लागि यसअघि गरिएका प्रयासहरुका लागि विश्व समुदायको भूमिका उल्लेखनीय रहेको पनि सो विज्ञप्तिमार्फत जनाएका हुन् ।

सो काम अहिले सुरु भइसक्नुपर्ने थियो । आगामी सन् २०१४ को जुन ३० सम्ममा ती हतियार सिरियाबाट हटाइसक्नुपर्ने छ । सिरियामा जारी रहेको सरकार विरोधी आन्दोलनलाई दबाउन सिरियाली सरकारले यस्ता रासायनिक घातक हतियारको प्रयोग गरेको भन्दै विपक्षीहरुले आपत्ति जनाएपछि राष्ट्रसंघीय अधिकारीहरुले सो विषयमा अनुसन्धान गरेका थिए ।

अनुसन्धानबाट सिरियाली सैनिकले ती हतियारको प्रयोग गरेको पाइएको बताएपछि विश्व समुदायले सिरियालाई यस्ता हतियारबाट मुक्त गर्न दबाब दिएको थियो ।

सोही बमोजिम सिरिया सरकार तयार भएपछि त्यहाँबाट ती हतियार हटाउने निर्णय गरिएको हो । सिरियामा यस्ता घातक हतियारको प्रयोगबाट कयौँ नागरिक मारिएका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनालेखि नै सरकार विरोधी आन्दोलन जारी रहेको छ । बितेका दुई वर्ष भन्दा लामो समय यतादेखि नै यस आन्दोलनले हिंसात्मक रूप लिने गरेको छ ।

उक्त हिंसामा परी आजसम्ममा एक लाख २० हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ । साथै हजारौँ नागरिक अङ्गभङ्ग भएका छन् भने लाखौँ लाखले विदेशमा शरण लिइरहेका बताइन्छ ।

त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको मागगरी सुरु भएको सो आन्दोलनमा यतिठूलो हिंसा भइसक्दा पनि राष्ट्रपति असादले भने राजिनामा दिएका छनैनन् ।

आक्रमण रोक्न अपिल

सिरियाली विपक्षीहरुको परिषदले केही दिनयतादेखि सिरियाली सैनिकले जारी राखेको हवाई आक्रमण तत्कालै रोक्न लगाउन विश्व समुदायलाई आग्रह गरेको छ ।

साथै सो परिषदले उक्त आक्रमण नरोके जेनेभामा हुने भनिएको शान्तिवार्तामा उपस्थित नहुने बताएको छ । विद्रोहीको नियन्त्रणमा रहेको भनिएको सिरियाली उत्तरी नगर अलेपोमा केही समययतादेखि सरकारी सेनाले हवाई आक्रमण जारी नै राखेको छ ।

दुई हप्तायतादेखि जारी राखिएको सो हवाई आक्रमण एवम् बम हमलामा परी करिब ४०० सर्वसाधारणको मृत्यु भएको छ । उक्त आक्रमण सरकारी सेनाले शनिबार पनि जारी नै राखेको छ । विद्रोही समूहले एक विज्ञप्तिमार्फत यस्तो आक्रमण निरन्तर रहेमा केही समयपछि जेनेभामा हुन लागेको भनिएको उक्त वार्तामा सहभागी नहुने जनाएको हो ।

उक्त आक्रमणमा ठूलो सङ्ख्याका बालबालिका पनि परेको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको छ । शनिबार मात्र पनि सो सहरमा सरकारी सेनाले एक अस्पताल नजिकै आक्रमण गरेको थियो ।

सिरियाली विपक्षीहरुले सेनाले आफ्ना क्षेत्रमा विस्फोटक पदार्थले भरिएको ब्यारेल खसाइरहेको आरोप लगाएका छन् । त्यसमा परी निकै धेरै मानिस मारिएको पनि बताएका छन् ।

आइतबार प्रमुख प्रतिपक्षी राष्ट्रिय गठबन्धनले पश्चिमी मुलुकलाई यस प्रकारको आक्रमण रोक्न सिरियामा उडान निषेधित क्षेत्र घोषणा गर्न आग्रह गरेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us