
भक्तपुर, १४ पुस – एमाले नेता एवम् संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले समानुपातिक सभासद चयनमा पार्टीले कमजोरी गरेको बताएका छन् ।
रफत सञ्चार क्लव भक्तपुरले आइतबार आयोजना गरेको कार्यक्रममा नेम्वाङले सभासद चयनमा भएको कजोरी नसच्याए पार्टीलाई क्षति पुग्ने बताएका हुन् ।
सभासद चयनमा एमालेले गरेको भेदभाव र त्रुटिले पार्टीका युवाहरुमा आक्रोश बढाएको भन्दै नेम्वाङले समानुपातिकमा बढी मत आएको जिल्लाबाट समेत सभासद नछान्नु कमजोरी हो, भने ।
दलहरुले निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्र अनुसार एकवर्षमै संविधान बनाइसक्नुपर्ने उनको भनाई छ । संविधान निर्माण कार्यमा नेकपा–माओवादी लगायतका साना दलहरुलाई समेत समेट्नुपर्ने नेम्वाङले बताएका छन् ।
साथै उनले संविधान बनेपछिमात्र राष्ट्रपतिको निर्वाचन हुनुपर्ने धारणा व्यक्त गरे । ‘राष्ट्रपतिबारे दलहरुले सहमतिबाट अघि बढ्नुपर्छ, उनले भने, ‘राष्ट्रपतिको मुद्दालाई सडकमा पुर्याएर देशलाई अनावश्यक तनावतर्फ लानुहुँदैन ।’