पशुसेवा केन्द्रको कार्यालय शौचालयमा !

काठमाण्डु टुडे २०७० पुष १४ गते ७:११ मा प्रकाशित

Toiletओखलढुङ्गा, १४ पुस – ओखलढुङ्गाको फूलबारी गाविसमा रहेको पशुसेवा केन्द्र दुई वर्षदेखि शौचालयमा सञ्चालन भइरहेको छ । केन्द्रको नवनिर्मित भवनमा सशस्त्रको क्याम्प राखेपछि शौचालयको कोठामा कार्यालय सञ्चालन गनुपरेको कार्यालयले जनाएको छ ।

द्वन्द्वकालमा ध्वस्त सेवा केन्द्रको भवन दुई वर्ष पहिले निर्माण सम्पन्न भए पनि कार्यालयको अनुमतिबिना नै सशस्त्र प्रहरीले हस्तक्षेप गरी क्याम्प सञ्चालन गरेको हो । तत्कालीन प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले पशुसेवा कार्यालयसँग समन्वय नै नगरी एकल निर्णयबाट सशस्त्रको क्याम्प राख्न निर्देशन दिएपछि सेवाकेन्द्र भवनविहीन भएको हो ।

पटकपटक कार्यालय भवन हस्तान्तरण गर्न माग गरेपनि सुनुवाइ नगरेको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकारी मोहन गुरुङले बताए । दुई वर्षपहिले सेवा केन्द्रको भवन हस्तान्तरण नभएको विषयमा ध्यानाकर्षण गराएपछि कार्यालयका लागि कोठा दिने सहमति भएको थियो । तर सशस्त्रले सहमतिविपरीत कार्यालय सञ्चालनका लागि शौचालयको कोठा मात्र दिएको गुरुङको गुनासो छ ।

आफ्नै कार्यालय भवन भए पनि सेवा केन्द्रले कार्यालय सञ्चालन गर्न सकेको छैन । भवन भए पनि आफूले कार्यालय सञ्चालन गरेर किसानलाई सेवा दिन नसकेको सेवा केन्द्रका जेटिए इन्द्र गिरीले बताए । गिरीका अनुसार शौचालयको कोठालाई सेवा केन्द्रको भण्डारण कक्ष बनाएर औषधि राख्नुपरेकोे छ ।

दुई वर्ष पहिले निर्माण सम्पन्न भए पनि कार्यालय सञ्चालन गर्न नपाएपछि त्यस क्षेत्रका किसान सेवाबाट वञ्चित भएका छन् । कार्यालय नहुँदा सेवा प्रवाह गर्न समस्या भएको कार्यालयले जनाएको छ ।

पशुसेवा कार्यालयको भवनमा हस्तक्षेप गरेर सशस्त्र क्याम्प बसेको विषयमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले यसअघि भएको निर्णयका बारेमा जानकारी नभएकाले अध्ययन गरेर समस्या समाधान गर्न पहल गर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us