
कञ्चनपुर, १४ पुस–भारतीय दुधुवा नेसनल पार्कबाट नेपाली बस्ती छिर्ने हात्तीको बथानले कञ्चनपुरको परासन गाविस–८ मा आतङ्क मच्चाएको छ । साँझ नहुँदै बस्ती छिर्ने हात्तीको बथानले स्थानीय तीनजना बासिन्दाको घर भत्काउनुका साथै घरभित्र राखेको अन्न सबै खाएर नोक्सानी पुर्याएको छ ।
स्थानीय बासिन्दाले लगाएको गहुँ र मसुरो बालीमा व्यापक नोक्सानी पुर्याएको स्थानीय मदन लुहारले बताए । हालसम्म १० बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको मुसुरो खाएर र खुट्टाले कुल्चेर नोक्सानी पुर्याएको उनले जानकारी दिए ।
चार दिनअघिदेखि हात्तीले दैनिक बस्तीमा छिर्ने गरेकाले हात्ती भगाउनका लागि रातभर जाग्राम बस्नुपर्ने स्थानीयको बाध्यता छ । साँझ पर्ने बित्तिकै स्थानीय बासिन्दाले हात्तीकै डरले गाउँमा हिँड्डुल गर्नसमेत छाडेका छन् ।