पूर्व लडाकुले बनाएको गेट सेनाले भत्कायो

काठमाण्डु टुडे २०७० पुष १४ गते ३:१९ मा प्रकाशित

नवलपरासी, पुस १४ गते–पूर्व जनसेनाले नवलपरासीको कावासोतीमा बनाएको शहिद स्मृतिद्वार नेपाली सेनाले भत्काएपछि नवलपरासीका दुबै माओवादीले नेपाली सेनाको सो कार्यको विरोध गरेका छन् । विस्तृत शान्ति सम्झौता पछि तात्कालिन नेकपा (माओवादी)ले निर्माण गरेको जनमुक्ति सेनाले अस्थायी शिविरमा बस्ने क्रममा नवलपरासीको कावासोतीको फलफूल चोकमा शहिदहरुको सम्झनामा शहिद स्मृती प्रवेशद्वार बनाएका थिए । सोहि गेट गत शुक्रवार नेपाली सेनाले भत्काए पछि दुबै माओवादीले नेपाली सेनाको सो कदमको विरोध गरेका हुन् ।

शुक्रवार विहान हात्तीखोर क्याम्पबाट आएका नेपाली सेनाका जवानहरुले सो द्वार भत्काउन लाग्दा स्थानिय केही माओवादीले विरोध गरेका थिए । तर, विरोधको बेवास्ता गर्दागर्दै सो संरचना भत्काईएको थियो ।  एकीकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज घनश्याम यादवले ऐतिहासीक संरचना नेपाली सेनाले पूर्वसूचना विना भत्काउनुले नेपाली सेनाको नियतमा शंका लागेको भन्दै सो घटनाको विरोध गरेका छन् ।

यसैगरी नेकपा-माओवादीका जिल्ला ईन्चार्ज अशोक लम्सालले ऐतिहासिक संरचना भत्काउनुमा साम्राज्यवादी र विस्तारवादीका नेपाली दलहरु सकृय रहेको भन्दै सो घटनाको भ्रतर्सना गरेका छन् ।

पूर्वपश्चिम लोकमार्गको कावासोतीमा बनाईएको प्रवेशद्वारबाट पूर्वजनसेनाको हात्तीखोर शिविरमा जान सकिन्छ । सेना समायोजन पछि सो शिविरमा नेपाली सेना बस्दै आएको छ । हात्तीखोर शिविरमा बस्दै आएका नेपाली सेनाको टुकडीले शुक्रवार विहान सो प्रवेशद्वार भत्काएको थियो । सो प्रवेशद्वार पूर्वजनसेनाको चौथो डिभिजिन अन्तर्गत बसन्त स्मृती ब्रिगेडले निर्माण गरेको थियो ।

प्रवेशद्वारमा प्रयोग भएका काठहरु नेपाली सेनाले क्याम्पमा लगेको थियो । ईटा भने नजिकैको एउटा रुख मुनि चौपारीका आकारमा राखेर छाडेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us