केजरीवालले ९ उच्च अधिकारी बदले

काठमाण्डु टुडे २०७० पुष १४ गते २:२५ मा प्रकाशित

arvind_kejriwalनयाँदिल्ली, १४ पुस–भारतको राजधानी नयाँदिल्लीको राज्य सरकारको सत्ता सम्हाले लगत्तै मुख्यमन्त्री अरबिन्द केजरिवालले विभिन्न ९ जना उच्च अधिकारीहरुको हेरफेर गरेका छन् । शनिबार राजधानीको रामलीला मैदानमा सार्वजनिक रुपमा मुख्यमन्त्री पदको शपथ ग्रहण लगत्तै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

केजरीवालले हेरफेर गरेका प्रमुख अधिकारीहरुमा अर्थ सचिव, उर्जा सचिव र दिल्ली जल बोर्डका कार्यकारी अधिकारी छन् ।

हेरफेरसँगै केजरीवालले सरकारका ईमान्दार अधिकारीहरुलाई आतंकित नहुन आग्रह समेत गरेका छन् । उनले कसै माथि बदला स्वरुप कुनै कारवाही नगरिने जनाएका छन् ।

दिल्लीका जनतालाई हरेक दिन प्रतिपरिवार ७ सय लिटर निःशुल्क पानी वितरण गर्ने बाचा गरेका केजरीवालले दिल्ली जल बोर्डका कार्यकारी निर्देशकलाई सरुवा गरेर दिल्ली परिवहन निगमको मुख्य कार्यकारी प्रवन्धक बनाएका छन् । दिल्ली परिवहन निगमले दिल्लीमा सार्वजनिक बसहरु सञ्चालन गर्ने गर्छ । दिल्लीको विद्युत महशुलमा ५० प्रतिशत कटौति गर्ने नारा सहित सत्तामा पुगेका केजरीवालले उर्जा सचिव समेत परिवर्तन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अरबिन्द केजरीवालले दिल्लीका जनतालाई पानी वितरण सम्बन्धी निर्णय सोमबारसम्म गरिसक्ने र विद्युत सम्बन्धी निर्णय मंगलबार गर्ने जनाएका छन् । त्यसैको मध्यनजर गर्दै केजरीवालले दुवैकालागि जिम्मेवार अधिकारीलाई हेरफेर गर्नुले उनले कुनै महत्वपूर्ण निर्णय गर्न लागेको आँकलन गरिएको छ ।

केजरीवाल मुख्यमन्त्री बनेसँगै सरकारका कर्मचारीहरुमा त्रास छाएको छ । विशेष गरि अनियमितता गरेका र भ्रष्टाचारमा संलग्न भएका कर्मचारीहरु निकै आतंकित भएको जनाईएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us