त्यागी भन्दा विवादास्पद छविका सभासद बढी

काठमाण्डु टुडे २०७० पुष १३ गते १०:१२ मा प्रकाशित

CPN-UMLकाठमाण्डु, १३ पुस– नेकपा एमालले संविधासभामा समानुपातिकतर्फ आफ्नो भागमा परेको ८४ जनाका नाम टुंग्याएलगत्तै पार्टी भित्रै यसको चरम आलोचना हुन थालेको छ ।

पार्टीका योग्य तथा त्यागी नेताको साटो नेताका खल्तीका मान्छेलाई सभासद बनाएको भन्दै विरोध सुरु भएको हो ।

एमालले विवादास्पद छविका महेन्द्र शेरचन तथा धनाढ्य ईच्छाराज तामाङ र राज्यलक्ष्मी गोल्छालाई सभासद बनाएपछि विवाद चुलिएको हो ।

काठमाण्डुको गोकर्ण रिसोर्टमा तीनदिनसम्म चलेको आवासीय बैठकले मेनपावर व्यवसायी तथा उत्सर्ग प्रकाशनका अध्यक्ष महेन्द्र शरचन, सिभिल ग्रुपका अध्यक्ष ईच्छाराज तामाङ र व्यापारिक घराना गोल्छा हाउसकी राज्यलक्ष्मी गोल्छालाई सभासद बनाउने निर्णय गरेको थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका शेरचनले आफ्नो मेनपावर कम्पनीबाट नेपालीहरु विदेश पठाउँदा ठुलो रकम ठगी गरेको आरोप लाग्दै आएको छ ।

यस्तै उत्सर्ग प्रकाशनमै कार्यरत पत्रकार रामप्रसाद दाहाललाई गैरकानुनी रुपमा समेत उनले निकालेका थिए । दाहालले पछि श्रम अदालतमा मुद्दा दायर गरी शेरचन तथा उनको उत्सर्ग प्रकाशनबाट क्षतिपुर्ति पाएका थिए ।

सुरुमा नेपाली कांग्रेस र राजाको प्रत्यक्ष शासनको कालमा ठुलै चुरीफुरी देखाउने शेरचन चुनाव हुनुभन्दा केही दिन अघि मात्रै एमालेमा प्रवेश गरेका थिए । कुनै राजनीतिक र वैचारिक हैसियत नबनाएका शेरचनले अहिले सभासद बन्न पार्टीका नेताहरुलाई राम्रै भेटी चढाएको एमालेकै नेताहरु बताउँछन् ।

एमालेको ८४ भित्र सिभिल ग्रुपका इच्छाराज तामाङ पनि अटाएका छन् । एमालेले पार्टीभित्र त्याग गरेका भन्दा धनाड्य हेर्न थालेपछि तामाङ पनि यो सूचीमा पर्न सफल भए ।

तामङ अध्इक्ष रहेको सिभिल ग्रुपले सिभिल मल, सिभिल ट्रेड सेन्टर, सिभिल बैंक, सिभिल होम्सलगायत सञ्चालन गरेको छ । यस अघि पनि सिभिल ग्रुप भित्र अनियमितताको समाचार सार्वजनिक भइरहेका छन् । सोभियत संघबाट पढेर फर्केपछि सामान्य व्यवसाय गरेका तामाङले यति छिटै कसरी सम्पत्ति जोडे भन्ने कुरा पनि विवादास्पद नै छ ।

यस्तै विवादास्पद गोल्छा समूहकी सदस्य पनि संविधानसभा छिर्ने भएकी छन् । राजनीतिक हैसियत भन्दा धनको रवाफमा सभासदको पद किन्न सफल भइन राज्यलक्ष्मी गोल्छा । एमालेलाई राम्रै चन्दा दान गरेकी गोल्छालाई उपहारस्वरुप यो पद मिलेको हो । उद्योगपति घराना भनेर चिनिने गोल्छा समूह कर छलिको विषयमा मुछिँदै आएको छ ।

एमालेले धनाड्य छानेर सभासद बनाउँदा पार्टीका लागि रगत बगाएका रामकुमारी झाँक्री, ठाकुर गैरे, राजेन्द्र राई जस्ता जुझारु नेताहरु पाखा लगाइएका छन् । यस्तै एमाले भित्रका हस्तीहरु भनिएका प्रदीप नेपाल, वेदुराम भुषाल जस्ता नेताहरु पनि संविधानसभाबाहिर रहने भएका छन् । जनआन्दोलनमा निकै सक्रिएता देखाएकी नेतृ झाँक्रीलाई एमालेले फेरि एक पटक धोका दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us