
सप्तरी, १३ पुस – विगत एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरीको नकटी रायपुर गाविसमा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नकटी रायपुर गाविस–८ निवासी ६५ वर्षीय रघुनाथी यादव छन् । अत्यधिक जाडोका कारण गत बिहीबार राति यादवको घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीय नर्मदेव यादवले जानकारी दिए ।
गत मंसिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवन प्रभावित भएको छ भने अधिकांश केटाकेटी र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् ।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् ।
सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
चिसोका कारण बिरामी परेका दैनिक करिब २० देखि २५ सम्म उपचारका लागि आउने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा शैलेश झा बताउँछन् ।