रेल्वे कर्मचारी आन्दोलनमा

काठमाण्डु टुडे २०७० पुष १३ गते ७:०४ मा प्रकाशित

जनकपुर, १३ पुस । ब्रोडगेज निर्माणको कार्य सुुरु भएपछि रेल्वे बन्द हुने भएकाले त्यहाँ कार्यरत कर्मचारीलाई सरकारले राख्छ वा निकाल्छ भन्ने बारेमा यहाँका कर्मचारीहरु अन्योलमा छन् ।

पहिलो चरणअन्तर्गत सरकारले भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटरसम्मका लागि ६० करोड भारतीय रुपैयाँ बजेट विनियोजन गरेको छ । सोअन्तर्गत पुलपुलेसा निर्माण र माटो भर्ने काम गरिने रेल्वे विभागले जनाएको छ ।

यसअन्तर्गत काम सुरु भएपछि करिब तीन वर्षसम्म जनकपुर–जयनगर रेल सेवा बन्द हुने भएकाले कार्यरत अस्थायी र ज्यालादारी कर्मचारीलाई सरकारले राख्छ वा निकाल्छ भन्ने बारेमा कर्मचारीबीच शङ्का उपशङ्का उत्पन्न भइरहेको छ ।    हाल जनकपुर रेल्वेमा १६० जना कर्मचारीमध्ये ज्यालादारी दुई जना र अस्थायी १०७ जना कर्मचारी छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुल्सीप्रसाद सिटौलासँग यसबारेमा जिज्ञासा राख्दा उहाँले हालसम्म सोबारेमा निर्णय नभएको बताए । उनले रेल विभागलाई खारेज गरी रेल बोर्ड गठन गर्ने अनिमात्र कर्मचारीको बारेमा केही निर्णय लिन सकिने बताए ।

जनकपुर रेल्वेका कर्मचारीहरु आन्दोलनमा रहेकोबारे जिज्ञासा राख्दा उनले आन्दोलन गर्ने नेपालीको स्वभाव भएकाले यसबाट सरकारलाई र रेल्वे विस्तारमा खासै फरक नपर्ने जिकिर गरे ।

यसैबीच रेल विभागका महानिर्देशक राजेश्वर महान सिंहले हालसम्म कर्मचारीको विषयमा रेल विभाग मौन रहेको बताए । कर्मचारीको आन्दोलन औचित्यहीन भएको उनको कथन छ ।

कर्मचारीले सात दिनभित्र आफूहरुको समस्या र मागको विषयमा विभाग गम्भीर नभए रेल्वे विस्तारको कार्यलाई नै अवरोध गर्ने जनाएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us