नेपाल–भारत औद्योगिक व्यापार मेलाको तयारी तिब्र

काठमाण्डु टुडे २०७० पुष १३ गते ५:११ मा प्रकाशित

वीरगन्ज, १३ पुस – वीरगन्जमा आयोजना हुन लागेको नेपाल भारत अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला–२०१४ लाई उद्योग, व्यवसाय, प्रविधि तथा कृषि र जडीबुटी क्षेत्रको प्रवद्र्धन केन्द्रको रुपमा मनाउने तयारी भइरहेको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघको मूल आयोजनामा नेपाल सरकार, उद्योग वाणिज्य महासंघ र लघु, घरेलु साना उद्योग विकास कोषद्वारा संयुक्तरुपमा आगामी फागुन १ देखि ८ गतेसम्म हुने उक्त मेलामा उद्योग, व्यवसाय, पर्यटन, प्रविधि र कृषिजन्य तथा जडीबुटी उत्पादन बिक्री तथा प्रवद्र्धनका लागि राखिने शुक्रबार यहा“ आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिले जनाएको छ ।

उक्त मेलामा औद्योगिक, पर्यटन, कृषि, साना तथा लघु उद्यम र वित्तीय संस्थालगायतका गरी २०० वटा कक्ष राखिने मेला मूल आयोजक समितिका अध्यक्ष एवम् वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोककुमार वैद्यले बताए ।

मेला अवधिभर सर्वसाधारणको मनोरञ्जनका लागि विभिन्न साङ्गीतिक कार्यक्रम, मनोरञ्जनात्मक खेल तथा खाना महोत्सवको समेत आयोजना गरिने उनले जानकारी दिए ।

मेला तथा प्रदर्शनी अवलोकन गर्नका लागि सर्वसाधारणलाई ३० र विद्यार्थी सहुलियतका लागि रु २० प्रवेशशुल्क कायम गरिएको छ । मेला अवधिभर सर्वसाधारण र व्यापारी गरी करिब पाँच लाखले अवलोकन गर्ने र झन्डै रु २० करोड मूल्य बराबरको कारोबार हुने अनुमान गरिएको संघका वरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले बताए ।

मेला अवधिमा औद्योगिक, पर्यटन, कृषि, साना तथा लघु उद्यम र वित्तीयसम्बन्धी गोष्ठी, सेमिनार तथा छलफलको समेत आयोजना गरिने जनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us