
काठमाण्डु, १३ पुस । समानुपातिक सभासद चयनका विषयमा सहमति जुटाउन नेपाली काँग्रेस संसदीय समितिको बैठक शनिबार बस्दैछ । बिहिबार बसेको पदाधिकारी बैठकमा विवाद भएपछि संसदीय समितिको बैठक शनिबारसम्मका लागि स्थगित भएको थियो । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।
काँग्रेसमा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलपक्षबीच सभासद चयनको विषयमा विवाद हुदै आएको छ । संस्थापन पक्षका ६० प्रतिशत र देउवा पक्षका ४० प्रतिशत सभासद रहने गरी भागबन्डाको तयारी भएपनि ठोस सहमति भइसकेको छैन ।
नेता देउवाले बराबर संख्यामा सभासद चयन हुनु पर्ने माग राखेकाले सहमति नजुटेको स्रोतको दावी छ । यस्तै अन्य विभिन्न उपगुटहरुले पनि आफू नजिकका नेतालाई सभासद बनाउनु पर्ने माग गर्दै आएका छन् । काँग्रेसले समानुपातिक तर्फ ९१ सिट पाएको छ ।