जुम्लाका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन

काठमाण्डु टुडे २०७० पुष १३ गते १:१२ मा प्रकाशित

जुम्ला, १३ पुस – जुम्ला जिल्लाका ९० प्रतिशत सरकारी कार्यालय प्रमुखविहीन रहेका छन् । सभा, सेमिनार, गोष्ठी र तालिमको बहाना गर्दै कार्यालय प्रमुखहरु जाडो छल्न तल झर्न थालेपछि जिल्लाका अधिकांश कार्यालय प्रमुखविहीन भएका हुन् ।

केही सरकारी कार्यालयका प्रमुख भने जानकारी दिएर बिदा, काज र गोष्ठीमा गएका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए । सहरी विकास तथा भवन डिभिजन, जिल्ला हुलाक, सहकारी डिभिजन, महिला तथा बालबालिका कार्यालय त वर्षौंदेखि निमित्तले सञ्चालन गरिरहेका छन् ।

यतिबेला झन् जिल्लाका सबै कार्यालय प्रमुख नहुनुले जनताका विकासका काममा बाधा पुगेको पत्रकार महासंघ, जुम्लाका अध्यक्ष बरमबहादुर महतको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी थापाले बिदा, काज, गोष्ठी वा तालिमका लागि जानकारी पत्र स्वीकृत नगराएर जाने कार्यालय प्रमुखलाई आवश्यक कारबाही गरिने बताए । जिल्लाका ४६ वटा सरकारी कार्यालयमध्ये भूसंरक्षण, को.ले.नि.का., नेपाल खाद्य संस्थान, मालपोत, जिल्ला प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मात्र यतिबेला जिल्लामा रहेका छन् ।

यसरी कार्यालय प्रमुख बाहिरिएपछि निमित्त प्रमुखले सकी नसकी सेवाग्रहीलाई चित्त बुझाएर पठाउने गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us