
काठमाण्डु, १२ पुस– सर्वोच्च अदालतले सिँचाइ मन्त्रालयका सचिव प्रतापकुमार पाठकलाई गरेको सजाय माफी दिएको छ ।
न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले अदालतको आदेशको अपहेलना गरेका सचिव पाठकले यही पुस १ गते अदालतमा उपस्थित भई लिखित प्रतिबद्धतासहित क्षमायाचना गरेकाले माफी दिने आदेश गरेको हो ।
आदेशमा निवेदक पाठकलाई अपहेलनाको कसुरमा गरेको सजायसमेतबाट मागबमोजिम माफी दिने ठहर्ने र लगतबमोजिमको जरिवाना असुल गर्न नपर्ने भई सजायको लगत कट्टा गरिदिनू भनिएको अदालतका सहायक प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
गत मंसिर १७ गते न्यायाधीशद्वय श्रेष्ठ र उपाध्यायको संयुक्त इजलासले गत भदौ ७ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयनमा अवरोध पुर्याउने तत्कालीन सिँचाइमन्त्री महेन्द्रप्रसाद यादवलाई छ हजार र सचिव पाठकलाई पाँच हजार जरिवाना गर्न आज आदेश दिएको हो ।
सो इजलासले एक महिनाभित्र इजलासलाई सन्तोष हुने गरी आफ्नो कार्यको प्रायश्चित गरेर क्षमायाचना गरेमा ठहरेबमोजिम गर्न सो अवधिसम्मका लागि मुद्दा मुल्तबीमा राख्न पनि आदेश दिएको थियो ।
यसअघि अदालतकै एक इजलासले मन्त्री यादव र सचिव पाठकलाई निवेदिका सचिव पदमा कार्यरत बिन्द्रा हाडालाई सोही पदमा यथावत्रूपमा कामकाज गर्न दिई सोको लिखित जानकारी शीघ्र अदालतलाई दिन आदेश जारी गरेकामा विपक्षी मन्त्री यादव र सचिव पाठकले अदालती आदेशको वास्तविक मर्म र भावनाविपरीत स्वेच्छाचारी हिसाबले काम गरेकाले आदेशको अपहेलना भएको ठहर गरेको थियो ।
रासस