मूल्य नबढाए इन्धन ल्याउन सक्दैनौं : निगम

काठमाण्डु टुडे २०७० पुष १२ गते १२:०० मा प्रकाशित

oil nigamकाठमाण्डु, १२ पुस– पेट्रोलियम पदार्थको सहज आपूर्ति कायम गर्न नेपाल आयल निगमले स्वतः मूल्य समायोजन प्रणाली लागू गर्ने व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सरल बिक्री मूल्य कायम गर्न नसक्दा निगमको घाटा बढिरहेको भन्दै निगमले यसको अन्त्यको एकमात्र उपाय मूल्य समायोजन नै भएको जनाएको छ ।

निगमले अहिलेको मूल्यमा पेट्रोल, मट्टितेल र हवाई इन्धनमा मात्र मासिक ४२ करोड नाफा रहेको जनाएको छ । निगमले हालसम्म ऋण ३४ अर्बभन्दा बढी पुगिसकेको जनाएको छ ।

सरकारको जमानीमा पटकपटक निगमले पेट्रोलियम पदार्थ किन्नका लागि सो ऋण लिएको हो । ऋणको ब्याजका लागि निगमले मासिक २४ करोड तिर्नुपर्छ । विद्युतभार कटौतीका कारण डिजेलको माग दिनप्रतिदिन बढिरहेकाले यसको सहज आपूर्ति व्यवस्था मिलाउन निगमलाई कठिन भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्यमा वृद्धि आएकाले अगामी महिनादेखि प्रतिसिलिन्डर चारसय घाटा बढ्ने निगमले जनाएको छ । पत्रकार सम्मेलनमा निगमका प्रवक्ता मुकुन्द घिमिरेले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न नसक्ने हो भने पेट्रोलियम पदार्थ ल्याउन नसकिने बताए ।

निगमले विगत वर्षमा पेट्रोलियम पदार्थको नियमित आपूर्ति गर्न लिएको ऋणमध्ये हालसम्म  ३३ अर्ब ६६ करोड तिर्न बाँकी रहेको छ । निगमले मूल्य समायोजन नभए पेट्रोलियम पदार्थको नियमित आपूर्ति गर्न मासिक घाटा रकम सरकारले अनुदानस्वरुप दिनुपर्ने वा १० अर्बको मूल्य स्थिरीकरण कोष स्थापना गर्नसमेत माग गरेको छ ।

हाल निगमको मासिक घाटा एक अर्ब ७७ करोड पुगिसकेको छ । निगमले सरकारलाई राजस्ववापत मासिक रुपमा दुई अर्ब १५ करोड बुझाउने गर्दछ । निगम उठ्नै नसक्ने गरी थला परेको निगमका कार्यकारी निर्देशक जयराज आचार्यले बताए ।

उनले तत्काल मूल्य समायोजन नगर्ने हो भने अगामी महिनादेखि पेट्रोलियम पदार्थको सहजता नहुनुका साथै निगमको मासिक घाटा रु दुई अर्बको हाराहारीमा पुग्ने बताए ।

निगमका बजार व्यवस्थापक सुशील भट्टराईले निगममा कार्यकारी प्रमुखको नियुक्ति नहुँदा समस्या परिरहेको बताए । चालु आवको चार महिनामा निगमले पेट्रोलियम पदार्थमा चार अर्ब छ करोड घाटा भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us