निर्वाचनमा सेना परिचालन गर्ने योजना

काठमाण्डु टुडे २०७० पुष १२ गते ११:०९ मा प्रकाशित

बैंकक, १२ पुस–थाइल्याण्डले आगामी निर्वाचनमा सेना परिचालन गर्ने संकेत दिएको छ । प्रधानमन्त्री यिङ्लक सिनावात्राले यसका लागि सेनाको सहयोग लिने संकेत गरेकी हुन ।
निर्वाचन आयोगको उक्त आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्रीले निर्वाचनको प्रयोजनका लागि आवश्यक मात्रामा सेनाको प्रबन्ध गर्न निर्देशन दिने तयारी गर्नुभएको समाचारमा जनाइएको छ ।
थाइल्याण्डका उपप्रधानमन्त्री सुरापोङ टोभिछाकुलले भने–निर्वाचनको लागि दोस्रो चरणको उम्मेदवारी दर्ता गराउन सशस्त्र प्रहरी बललाई भनिसकिएको छ र निर्वाचनमै सुरक्षाका लागि सेनालाई निर्देशन दिइने छ ।’
विपक्षीले निर्वाचन सार्नका लागि गरेको आन्दोलन बमोजिम नै निर्वाचन आयोगले पनि सरकारलाई आग्रह गरेको थियो । निर्वाचन आयोगले निर्वाचनमा सुरक्षाको कारण आगामी निर्वाचनप्रति आशङ्का गर्दै हालका लागि निर्वाचन स्थगित गर्न सो आग्रह गरेको थियो । तर प्रधानमन्त्री सिनावात्राले निर्वाचन आयोगको सो आग्रहलाई अस्वीकार गरिदिएकी छन ।
निर्वाचन विरोधी आन्दोलनका कारण बिहीबार भएको हिंसाका कारण दुई जनाको ज्यान गएको छ । मारिनेमा एकजना प्रहरी पनि रहेका छन् । त्यस्तै उक्त हिंसामा परी अरु १५० जना घाइते भएका छन् । विपक्षीहरुले निर्वाचनका विरुद्धमा दिनहुँजसो प्रदर्शन गरिरहेका छन् ।
थाइल्याण्डमा जारी निर्वाचन विरोधी आन्दोलन बिहीबार थप हिंसाउन्मुख भएपछि निर्वाचन आयोगले सरकारलाई निर्वाचन सार्न आग्रह गरेलगत्तै सरकारले निर्वाचनको तयारी झन बढी गरिरहेको पनि उपप्रधानमन्त्रीले बताएका हुन । बिहीबार उम्मेदवारी दर्ता गराउने दिन रहेको र सोही कार्यमा अवरोध गर्नका लागि विपक्षीहरूले आन्दोलन थप चर्काएका थिए । बिहीबार दर्ता गर्न नसकिएका उम्मेदवारहरुलाइृ अर्काेदिन दर्ताको प्रबन्ध मिलाइने छ ।

थाइल्याण्डको संसदले आममाफीसम्बन्धी कानुन ल्याएपछि त्यसको विरोधमा विपक्षीहरूले आन्दोलन सुरु गरेका हुन् । उक्त विधेयक असफल भएपछि पनि आन्दोलन जारी नै राखेका उनीहरूले प्रधानमन्त्री यिङलक सिनावात्राको राजिनामा मागेका छन् ।
सिनावात्राको सरकारले केही समययतादेखि देशमा व्यापक मात्रामा विरोधको सामना गरिरहेको छ । तरपनि देशमा रहेका राजनीतिक शक्तिहरुमा अधिकांसले सरकारको समर्थन गरिरहेकोले सेना लगाएरै भएपनि निर्वाचन गर्ने तयारीमा सरकार रहेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us