निर्वाचनपछि नवीन समय प्रारम्भ

काठमाण्डु टुडे २०७० पुष १२ गते १०:१९ मा प्रकाशित

काठमाण्डु १२ पुस–मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संबिधानसभा निर्वाचनपछि नवीन समयको प्रारम्भ भएको बताएका छन । नेपालमा शान्ति र स्थायित्व कायम हुने वातावरण निर्माण हँुदै आएको स्मरण गराउदै रेग्मीले २०७० मङ्सिर ४ गते स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा अधिकाधिक जनसहभागितासहित संविधानसभा निर्वाचन भएको बताए । निर्वाचन भएसँगै नेपालमा नवीन समयको प्रारम्भ भएको उनले बताए ।khilraj
“संविधानसभा निर्वाचनको सफलतासँगै नेपाललाई शान्ति, समृद्धि र विकासको मार्गमा उन्मुख गराउने समय नजिकिइरहेको छ,” उनले भने ।
रेग्मीले समाजको अग्रगामी रुपान्तरणका लागि शिक्षा प्रमुख साधन भएको बताएका छन ।
त्रिभुवन विश्वविद्यालयको ३९ औ दीक्षान्त समारोहलाई शुक्रवारसम्बोधन गर्दै उनले समाजको अग्रगामी परिवर्तन र समयानुकूल रुपान्तरणका लागि शिक्षा प्रमुख साधन, शिक्षाकर्मी र विद्यार्थी साधक र शिक्षित समृद्ध समाज साध्य भएको बताए ।
उनले नेपालको शैक्षिक इतिहासमा सबैभन्दा लामो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयबाट उत्पादित जनशक्तिले हालसम्म स्वदेश र विदेशका महत्वपूर्ण क्षेत्रहरुमा योगदान गरिसकेको चर्चा गर्दै आगामी दिनमा पनि विश्वविद्यालयबाट क्षमतावान् र ऊर्जाशील जनशक्ति उत्पादन गर्ने अपेक्षा गरिएको बताए ।
सामाजिक परिवर्तनका लागि शिक्षा अपरिहार्य आवश्यकता भएकामा जोड दिँदै रेग्मीले भने “शिक्षाको विकासमा हाम्रा जनशक्तिलाई विश्वको सबै समाजमा कार्य गर्न सक्ने गरी सक्षम बनाउनु आवश्यक छ ।”
शिक्षामन्त्री माधवप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शैक्षिक पहिचान भएको बताए । उनले देशका लागि आवश्यक प्राविधिक, प्रशासनिक एवम् व्यवस्थापकीय जनशक्ति उत्पादनमा विश्वविद्यालयले महत्वपूर्ण योगदान पु¥याएको बताए ।
विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक एवम् समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्न उत्कृष्ट शैक्षिक संस्थाका रुपमा विकसित र परिमार्जित गर्नुपर्नेमा उनले जोड दिए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. हीराबहादुर महर्जनले ३९ औँ दीक्षान्त समारोहमा त्रिविका ६० आङ्गिक क्याम्पस तथा ९०० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसका ५४ हजार ७७५ विद्यार्थी दीक्षित हुन योग्य भएकामा प्रत्यक्ष रुपमा शुक्रवार ६ हजार ७२२ जना विद्यार्थी दीक्षित भएको बताए ।
उनले परिवर्तित राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थामा विश्वविद्यालयलाई व्यवस्थित एवम् पारदर्शी बनाउँदै अग्रगामी रुपान्तरणका लागि निरन्तर प्रयास जारी राखिने बताए ।
विश्वविद्यालयको गुणस्तर अभिवृद्धि गर्न गुणस्तर मूल्याङ्कन र मान्यता प्रदान गर्ने निकायको निर्माण तथा त्यससम्बन्धी नियम उपनियम बनाउने कार्य अन्तिम चरणमा पुगिसकेको उनले बताए ।
युनिभर्सिटी अफ सिन्ह्वा चाइनाका उपाध्यक्ष प्रोफेसर ही जियानपिङले नेपालको सबैभन्दा पुरानो विश्वविद्यालयका रुपमा रहेको त्रिभुवन विश्वविद्यालयले यहाँको शैक्षिक विकासमा महत्वपूर्ण योगदान गरिरहेको बताए ।
दीक्षान्त समारोहमा कुलपति रेग्मीले विद्यावारिधि उपाधि प्राप्त गर्ने मानविकी र सामाजिक सङ्कायतर्फ ३४ जना, विज्ञान तथा प्रविधितर्फ सात जना, कानुनतर्फ एक जना, शिक्षाशास्त्रतर्फ दुई जना तथा व्यवस्थापनतर्फ सात जनालाई विद्यावारिधिको उपाधि प्रदान गरेका थिए ।
त्यस्तै स्नातक तथा स्नातकोत्तरतर्फ विभिन्न तह र विषयमा सर्वोत्कृष्ट नम्बर प्राप्त गर्ने २० जना विद्यार्थीलाई कुलपति रेग्मीले दीक्षान्त पदक एवम् पुरस्कार प्रदान गरिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us