
ललितपुर, १२ पुस–राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीको मुद्दामा नेपाल प्रहरीबाट भइरहेको अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएको छ ।
आयोगका कायममुकायम सचिव वेदप्रसाद भट्टराईद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा घटनाको अनुसन्धान कार्य छिटोछरितो भए पनि पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय चितवनबाट अनुसन्धान प्रक्रिया प्रभावकारी नभएको भनी आयोगमा उजुरी परेको जनाइएको छ ।
अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउन अनुसन्धानको दायरा फराकिलो पार्न नेपाल सरकार र नेपाल प्रहरीको प्रधान कार्यालयको समेत ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन सबै सरोकारवाला पक्षसँग आग्रह गरिएको छ ।
घटनाको अनुसन्धानमा भएको प्रगतिबारे जानकारी लिन एक टोली चितवन जाने आयोगले जनाएको छ ।